काठमाडौं,२ फागुन । प्रधानन्यायाधीश गोपलप्रसाद पराजुलीको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले न्याय परिषदको कार्यालय घेराउ गरेका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रलाई लिएर विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने माग गर्दै कानुन व्यवसायीहरुले आज पुल्चोकस्थित न्याय परिषदको कार्यालयमा एक घण्टा धर्ना दिएका हुन् ।
न्यायालयको गरिमा माथि नै आँच आउने भएकाले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले तत्काल राजीनामा दिनुपर्ने उनीहरुको माग छ । आज न्यायपरिषदले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतको रिक्त न्यायाधीश सिफारिस गर्न बैठक बस्ने कार्यसूचि थियो । अधिवक्ता कपिलदेव ढकालले विवादमा तानिएका प्रधानन्यायाधीश पराजुलीले न्यायालयको गरिमा धान्न नसक्ने भन्दै उनको अध्यक्षतामा कुनै पनि निर्णय हुन नदिन विरोध प्रर्दशनमा उत्रनुपरेको बताए ।
प्रधानन्यायाधीश पराजुलीमाथि ४ पटक नागरिकता र फरक–फरक मिति उल्लेख गरिएको शैक्षिक प्रमाण पत्र रहेको आरोप लगाइएको छ । त्यसको यथार्थ विवरण सर्वोच्च अदालतको ‘फुल कोर्ट’ले नदिएसम्म प्रधानन्यायाधीश पराजुली अध्यक्ष रहेको न्यायापरिषदले कुनै पनि निर्णय गर्न नमिल्ने कानुन व्यवसायीहरुको माग छ ।