जित्नै पर्ने दबाबमा नेपाल | ईमाउण्टेन समाचार

Our Network

फागुन २२ २०८२, शनिबार

जित्नै पर्ने दबाबमा नेपाल

kheladi

काठमाडौं,२ फागुन । घरेलु टोली नामिबियाले मंगलबार केन्यालाई ८ विकेटले हराएपछि आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को शीर्ष दुईमा रहन नेपालले बुधबार क्यानाडालाई हराउनै पर्ने दबाब छ।

चार खेलबाट ६ अंक जोडेको नेपाल कमजोर रनरेटका कारण तेस्रो स्थानमा झरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले क्यानाडाविरुद्ध खेल्दा नामिबियाले चौथो स्थानको युनाइटेड अरब इमिरेट्स युएई सँग प्रतिस्पर्धा गर्नेछ । नेपाल क्यानाडासँग पराजित भए शीर्ष दुईमा रहेर जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्ने सम्भावना समाप्त हुनेछ । जुन टोलीले जित्छ त्यही टोली शीर्ष दुईमा हुने भएकाले नेपालजस्तै क्यानाडा पनि जित्नै पर्ने दबाब हुनेछ।

नेपालले क्यानाडाविरुद्ध विन्डहोकस्थित वान्डरर्स क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्नेछ । जहाँ नेपालले सोमबार केन्याविरुद्ध अन्तिम बलमा ३ विकेटको विजय हासिल गरेको थियो । प्रतियोगिता भएका तीन क्रिकेट मैदानमध्ये वान्डरर्स ब्याटिङका लागि सहज विकेट भएको मैदान मानिन्छ । त्यसैले नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा ब्याट्सम्यानले अघिल्लो खेलमा भन्दा राम्रो गर्ने विश्वासमा छन्।

‘अरूले के कस्तो खेल्छ भन्दा हामी राम्रो प्रदर्शन गर्नेमा केन्द्रित छौं । युवा खेलाडीमा आत्मविश्वास बढिरहेको छ र प्रदर्शनमा पनि सुधार गरेका छन् । सन्दीपको प्रदर्शन उत्कृष्ट छ,’ क्यानाडाविरुद्धको खेलबारे नेपालका मुख्य प्रशिक्षक जगत टमाटाले भने, ‘आफ्नो तर्फबाट राम्रो क्रिकेट खेल्ने हो । राम्रो क्रिकेट खेल्दै जित्ने हो।’

अंकतालिकाको शीर्ष दुई टोलीले जिम्वाब्बेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउनेछ । डिभिजन–२ को शीर्ष दुईले वेस्ट इन्डिज, जिम्वाब्बे, आयरल्यान्ड, नेदरल्यान्ड, पपुवा न्युगिनी, अफगानिस्तान, हङकङ र स्कटल्यान्डसँग दुई समूहमा विभाजित भएर प्रतिस्पर्धा गर्नेछन् । यसका शीर्ष दुई टोलीले इङ्ल्यान्डमा हुने विश्वकप खेल्न पाउनेछन् । साथै नेदरल्यान्डबाहेक शीर्ष तीन एसोसिएट राष्ट्रले २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछ।

ओपनरमा गरिएको प्रयोग पुनः एक असफल भए पनि मध्यक्रमका ब्याट्सम्यानले बिस्तारै लय समातेका छन् । जुन नेपालको आशालाग्दो पक्ष हो । कप्तान पारस खड्काले युएईविरुद्ध अर्धशतक पूरा गरे भने केन्याविरुद्ध ४२ रनको योगदान गरे । शरद्को मध्यम प्रदर्शन कायम छ भने आरिफ शेख र रोहितकुमार पौडेलले केन्याविरुद्ध क्रमशः ४२ र ४७ रन बनाएका थिए । उपकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरीले अहिलेसम्म आशातीत प्रदर्शन गर्न सकेका छैनन् । ओपनरमा दिलीप नाथको ब्याट नचलेपछि अनिलकुमार शाहलाई टोलीमा समावेश गरिएको थियो । तर, अनिलकुमारको पनि पहिलो खेल बिर्सनलायक रह्यो । उनी गोल्डेन डकआउट भएका थिए।

बलिङतर्फ सन्दीप प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने खेलाडी हुन् । चार इनिङमा ३५.२ ओभर बलिङ गरेका सन्दीपले ९७ रन दिएर १४ विकेट लिइसकेका छन् । मध्यम गतिका बलर सोमपाल कामीले पनि ९ विकेट आफ्नो नाममा लेखाइसकेका छन्।

क्यानडाविरुद्धको पछिल्लो दुई भेटमा नेपालले मिश्रित नतिजा निकालेको छ । गत दुई वर्षअघि डिभिजन २ मै नेपालले क्यानाडालाई ७ विकेटले पराजित गरेको थियो । ७ विकेटको नतिजा नेपालले वान्डरर्स क्रिकेट मैदानमै निकालेको थियो, जहाँ नेपालले बुधबार प्रतिस्पर्धा गर्दै छ । उक्त खेलमा म्यान अफ दी म्याच घोषित पारसले ७७ रनको योगदान गरेका थिए भने ज्ञानेन्द्र मल्ल ३२ रनमा अविजित थिए । त्यसअघि २०१४ मा क्राइसचर्चमा भएको विश्वकप छनोट आइसिसी ट्रफी प्रतियोगिताको खेलमा भने नेपाल १२ रनले पराजित भएको थियो।

जारी प्रतियोगिताको पहिलो तीन खेल जितेको क्यानाडा नामिबियाविरुद्धको चौथो खेलमा १७ रनले पराजित भएको थियो। ‘अरूले के कस्तो खेल्छ भन्दा हामी राम्रो प्रदर्शन गर्नेमा केन्द्रित छौं । युवा खेलाडीमा आत्मविश्वास बढिरहेको छ र प्रदर्शनमा पनि सुधार गरेका छन् । सन्दीपको प्रदर्शन उत्कृष्ट ।’आजको नागरिक दैनिकमा यस्तो खवर छ ।