एजेन्सी । लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै लेबनानका प्रधानमन्त्री नवाफ सलामले विशेष गरी हिजबुल्लाह समूहलाई आफ्ना हतियारहरू राज्यका संस्थाहरूलाई सुम्पन आह्वान गर्नुभयो ।
लेबनानी राज्यले आफ्नो वैध संस्थाहरूको ढाँचा बाहिर लेबनानी क्षेत्रबाट शुरु गरिएका कुनैपनि सैन्य वा सुरक्षा कार्यहरूलाई पूर्ण रूपमा अस्वीकार गरेको बताउनु भयो । जसमा कुनै अस्पष्टता वा व्याख्याको ठाउँ नरहेको बताउनुभयो । हिजबुल्लाहको सशस्त्र गतिविधिले राज्यको अधिकारमाथि उल्लङ्घन गरेको घोषणा गर्दै मन्त्रिपरिषद्ले सुरक्षा निकायहरूलाई उल्लङ्घन गर्नेहरूलाई पक्राउ गर्न र लेबनानी क्षेत्रबाट रकेट वा ड्रोन प्रक्षेपण रोक्न आदेश दिएको छ ।
इरानी रेड क्रिसेन्टकाअनुसार पछिल्लो समय आक्रमण शुरु भएदेखि कम्तिमा ५ सय ५५ जनाको मृत्यु भएको छ । यसैबीच म्यागेन डेभिड एडोम उद्धार सेवाका अनुसार इजरायलमा १० जनाको मृत्यु भएको छ ।





