निर्वाचनकाे दिन सवारी साधनमा रोक, हवाई उडान यथावत् | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

निर्वाचनकाे दिन सवारी साधनमा रोक, हवाई उडान यथावत्

काठमाडाैं । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको दिनको आवागमनलाई व्यवस्थित गर्न निर्वाचन आयोगले सवारी साधन सञ्चालनमा पनि रोक लगाएको छ । फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सार्वजनिक तथा निजी सवारी साधनहरू चलाउन नपाइने भएकाे हाे।

अत्यावश्यक सेवाका साधनहरू एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका साधन, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका साधन र कुटनीतिक नियोगका सवारी साधनहरू भने निर्वाध रूपमा चल्न पाउनेछन् । अन्यको हकमा आयोगबाट पास प्राप्त गरेका सवारी साधन मात्र सञ्चालन हुन पाउनेछन् ।

सडक यातायातमा रोक लगाइए पनि मतदानको दिन अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानहरू भने यथावत् सञ्चालन हुने प्रवक्ता भट्टराई बताउनुभयो । हवाई उडानका लागि टिकट भएका यात्रुहरूलाई विमानस्थलदेखि घर वा होटलसम्म आउजाउ गर्न निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिइनेछ

त्यस्तै अत्यावश्यक सवारी पास वितरणलाई सहज बनाउन आयोगको सचिवालय परिसरमा छुट्टै ‘पास वितरण एकाइ’ खडा गरिनेछ । जसमा निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंका दुई–दुई जना कर्मचारी खटिनेछन् ।

आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधि (मौन अवधि) का लागि पनि नियमहरू लागू गरेको छ । आगामी फागुन १८ गते राति १२ बजेदेखि नै मौन अवधि शुरु हुनेछ । यस अवधिमा कुनैपनि प्रकारका चुनावी प्रचारप्रसार गर्न पाइनेछैन । जिल्ला आचारसंहिता अनुगमन समितिले तोकिएका व्यक्ति तथा संयन्त्रको परिचालन गरी यसको सुक्ष्म अनुगमन गर्नेछ ।

परिचय खुलाउने ६ वटा कागजातबाट मतदान गर्न पाइने
मतदाताको सहजतालाई ध्यानमा राख्दै आयोगले मतदानका लागि वैकल्पिक परिचयपत्रको व्यवस्था पनि गरेको छ । मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, जग्गाधनी प्रमाणपूर्जा वा सवारी चालक अनुमतिपत्रमध्ये कुनै एउटा आधिकारिक कागजात देखाएर पनि सहजै मतदान गर्न पाउनेछन् । यस विषयमा मतदान केन्द्रमा खटिने सुरक्षाकर्मी र कर्मचारीलाई आवश्यक सूचना संप्रेषण गरिसकिएको आयोगले जनाएको छ ।

Leave a Reply