काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन विथोल्न लागेको आरोप लगाएको छ । पार्टी कार्यलयमा पत्रकार सम्मलेन गरि एमालेले निर्वाचनमा जित हासिल गर्न नसक्ने भएपछि रास्वपा विथोल्न तिर लागेको आरोप लगाएको हो ।
एमालेको निर्वाचन प्रचार समितिका संयोजक मिनबहादुर शाहीले निर्वाचन विथोल्नको लागी रास्वपाले एमालेको झण्डा, प्रचार सामाग्री जलाउने तथा घृणा फैलाउने गतिविधिमा संलग्न भएको आरोप लगाउनु भयो । उहाँले निर्वाचन नजिकिँदै जाँदा मुलुकमा भय र त्रासको वातावरण बढ्दै गएको बताउनुभयो ।
उहाँले शान्ति–सुरक्षाको प्रत्याभुति दिन सरकार असफल भएको आरोप लगाउनुभयो । शाहीकाअनुसार देशभर एमालेको आस्थाको केन्द्र ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउने, पार्टी नेतृत्वविरुद्ध घृणा फैलाउने र समुदायबीच द्वन्द्व सिर्जना गर्ने गतिविधि तिब्र बनेका छन् । उहाँले यस्ता कार्यलाई चुनावी द्वन्द्वतर्फ देशलाई धकेल्ने गम्भीर षड्यन्त्र भएको बताउनुभयो । शान्ति–सुरक्षाको विषयलाई विश्वसनीय बनाउन उहाँले सरकारसँग माग गर्नुभयो ।
उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनलाई एमालेले ‘देश बनाउने र जलाउने बीचको जनमत संग्रह का रूपमा लिएको उल्लेख गर्दै कथित ‘भोट फर चेन्ज’ को भाष्य कमजोर भएपछि अभद्र व्यवहार, फेक सर्वेक्षण सार्वजनिक गर्ने र मतदातालाई प्रभाव पार्ने प्रयास भएको आरोप लगाउनुभयो ।
एमालेले स्वच्छ, निष्पक्ष र भयरहित मतदानको वातावरण बनाउन सरकारसँग माग गरेको छ । आम मतदाताको निर्भीक रूपमा मतदान केन्द्रसम्म पुग्ने नैसर्गिक अधिकार संरक्षण गर्ने दायित्व सरकारको भएको एमालेको भनाइ छ । निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख गर्दै एमालेले होली पर्वको अवसरमा अमुक दलको चुनाव चिन्ह अंकित टिर्सट वितरण गरिएको आरोप लगाएको छ । आचारसंहिता उल्लङ्घनका घटनामा निर्वाचन आयोग उदासीन देखिएको पनि एमालेको आरोप छ ।





