काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभएको छ । धनुषामा पार्टीले आयोजना गरेको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मै किन हुन लागेको हो ? भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताउनुभयो । उहाँले अहिलेको विषम परिस्थितिमा कसलाई जिताउने भन्दापनि मुलुकलाई कसले सम्हाल्न सक्छ ? भन्ने मूल प्रश्न भएको उल्लेख गर्नुभयो । उहाँले मधेसलाई देशको अन्नको भण्डारका रूपमा व्याख्या गर्दै यहाँका किसानप्रति आभार व्यक्त गर्नुभयो ।
उपसभापति शर्माले देश र मधेश दुवै पीडामा रहेको उल्लेख गर्दै समाधान खोज्न राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो । काँग्रेसले विशेष महाधिवेशनमार्फत रुपान्तरण भएर आएको दाबी गर्दै उहाँले देशका पहाड, तराई र हिमाल क्षेत्रमा देखिएका समस्याको समाधानको प्रतिज्ञा गर्न मधेस आएको दाबी पनि गर्नुभयो ।
उहाँले मुलुक र संविधानको रक्षा गर्न अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई बहुमतका साथ विजयी गराउन समेत अपिल गर्नुभयो ।





