काठमाडाैं । नेपालमा आठौं नेपाल राइडर्स मिट आयोजना हुने भएको छ । नेपालमा साहसिक मोटरसाइकल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी फेब्रुअरी १४ देखि १६ सम्म मिट आयोजना हुन लागेको हो ।
आयोजक संस्था फोर नेपाल र द हिमालयन मोटरसाईकल एक्सपिरियन्सले सोमवार काठमाडौमा पत्रकार सम्मेलन गरी लाँकुरीभञ्जाङमा कार्यक्रम हुने जानकारी दिएको छ । कार्यक्रममा नेपालसहित भारत, भूटानलगायत विभिन्न देशका ५०० भन्दा बढी रोयल इन्फिल्ड राइडरहरूको सहभागिता रहने आयोजक संस्था द हिमालयन मोटरसाईकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा स्थानीय कला–संस्कृति झल्कने नृत्य, स्थानीय उत्पादन तथा परिकार प्रदर्शनी पनि गरिने उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार मोटरसाइकलसम्बन्धी विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिताअन्तर्गत टग अफ वार, स्किल टाइम ट्रायल ३५०, स्किल टाइम ट्रायल ४११, स्लो रेस, कम्बो ब्याकवार्ड पुल तथा बियर चग आयोजना गरिनेछ ।
कार्यक्रम सफल बनाउन विभिन्न समिति गठन गरी तयारी तिब्र पारिएको आयोजकले जनाएको छ । विदेशी पाहुनाको आतिथ्य व्यवस्थापन नेपाल पर्यटन बोर्डको सह–आयोजनामा गरिनेछ । नेपाललाई सुरक्षित र साहसिक मोटरसाइकल यात्राको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउन यो कार्यक्रममा महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकको छ ।





