एजेन्सी । वर्षौंको युद्धपछि सुडानको राजधानीमा फूल महोत्सव आयोजना गरिएको छ । जहाँ सुडानभरका १५० भन्दा बढी कम्पनी र उत्पादकहरू सहभागी छन् । जसले सजावटी फूलहरू, बिरुवाहरू, फलफूलका रूखहरू र भू–दृश्य डिजाइनहरू प्रदर्शन गरिरहेका छन् ।
आयोजकहरूका अनुसार केही बिरुवाहरू पहिलो पटक सार्वजनिक रूपमा प्रदर्शन गरिएका छन् । प्रदर्शनी स्थललाई हरियो पैदल मार्ग र व्यवस्थित रूपमा रोपिएका क्यारीहरूसँगै रातो, पहेँलो र बैजनी रङ्गका फूलहरूले सजाइएको छ । फूल फुल्ने बिरुवाहरू डालोमा झुण्डाइएका छन् वा स्थानीय संस्कृति झल्काउने परम्परागत माटोका भाँडाहरूमा राखिएका छन् ।
सीमित स्रोतसाधनका बाबजुद, आयोजकहरूले लचिलोपनको सन्देशको रूपमा प्राकृतिक सौन्दर्य प्रश्तुत गर्नमा ध्यान केन्द्रित गरेका छन् । यो महोत्सव राजधानीको मुख्य सडकहरूमध्ये एक नाइल स्ट्रिट नजिकैको मरिना गार्डेनद्वारा आयोजना गरिएको हो । आयोजकहरूले स्थानीय उत्पादकहरूलाई सहयोग गर्ने र हरित अर्थतन्त्रलाई बढावा दिनुका साथै सार्वजनिक जनजीवन पुनस्र्थापित गर्ने लक्ष्य रहेको बताएका छन् ।
युद्धले पूर्वाधार र दैनिक जनजीवन तहसनहस बनाएपछि खार्तुमले बिस्तारै आर्थिक र सामाजिक गतिविधिहरू सुरु गर्दै गर्दा यो महोत्सव आएको हो । क्षति अझै व्यापक भए पनि, रङ्ग, सुगन्ध र भीडले सामान्य जनजीवनको सानो अनुभूति प्रदान गर्दछ ।





