काठमाडाैं । नेपाली काँग्रेसका सांसद पदम परियारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन ठूलो संख्यामा जनप्रतिनिधिहरूले कार्यकाल पूरा हुनुअगावै राजीनामा दिएको विषयप्रति आपत्ति जनाउनुभएको छ ।
राष्ट्रिय सभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो ।
उहाँका अनुसार ३० जनाभन्दा बढी प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरूले निर्वाचनमा उम्मेदवार बन्न कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उहाँले नेपालको संविधानको धारा ८६, १७७ र २१५ अनुसार संघीय सांसद, प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकिएको स्मरण गराउनुभयो ।
उहाँले जनताबाट प्राप्त जनादेश र संविधानप्रति गरिएको शपथ बिर्सेर पद त्याग गर्ने प्रवृत्तिले राज्यलाई अनावश्यक आर्थिक भार थपिएको बताउँदै विद्यमान कानुनमा संशोधन गर्न सरकार र संसदको ध्यानाकर्षण गराएका गराउनुभयो । उहाँले जनताप्रति उत्तरदायी संसदीय राजनीतिक संस्कार स्थापित गर्न कानूनी व्यवस्था थप मजबुत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले जनताको जनादेश बिर्सिएर भगौडा र धोकेबाज प्रेमीजस्तै जनप्रतिनिधि भागेको टिप्पणी पनि गर्नुभयो ।
अगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागि हुन प्रदेश अधिकांश प्रदेश सांसदहरु एवं स्थानीय तहका प्रतिनिधिहरु राजीनामा दिएर निर्वाचनमा होमिएका छन् ।





