काठमाडाैं । त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ । पशुपति बहुमुखी क्याम्पसको ४६ औँ वार्षिकोत्सव समारोहमा उहाँले न्यूनतम साढे दुईदेखि पाँच प्रतिशतसम्म बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको हो ।
उहाँले विश्वविद्यालयका आंगिक क्याम्पसहरूलाई पाँच प्रतिशत बजेट अनिवार्य रूपमा अनुसन्धानमा खर्च गर्न निर्देशन दिइसकिएको जानकारी दिनुभयो । उहाँले अनुसन्धानमा बजेट खर्च गर्ने प्रयोजनका लागि विश्वविद्यालयले क्याम्पसहरूलाई औपचारिक पत्र पठाउने तयारी समेत गरेको उहाँले बताउनुभयो ।
उहाँले पशुपति क्याम्पसलाई अनुसन्धान केन्द्रका रूपमा विकास गर्न पनि आग्रह गर्नुभयो । यसले सिंगो त्रिभूवन विश्वविद्यालयको शैक्षिक स्तर उकास्न सहयोग पुग्ने उहाँको भनाई छ । उहाँले विश्वविद्यालयले हाल दुई वटा प्रमुख कार्यक्रम अघि सारेको जानकारी दिनुभयो । उहाँका अनुसार विश्वविद्यालयका सम्पूर्ण अभिलेखहरू डिजिटल रूपमा सुरक्षित गर्ने उद्देश्यसहित डिजिटाइजेशन प्रक्रिया शुरु भइसकेको छ । यसका लागि आवश्यक सफ्टवेयर खरिद गर्न टेण्डर आह्वान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले विश्वविद्यालयको संरचनात्मक पुनर्संरचना गर्न लागिएको बताउनुभयो । यसका लागि क्याम्पसहरुको सहयोग आवश्यक रहेको उहाँको भनाई छ ।
उहाँले विश्वविद्यालयले क्याम्पसका प्राध्यापकहरूको स्तर निर्धारणसम्बन्धि मापदण्ड सिनेटबाट अनुमोदन गरेको पनि जानकारी दिनुभयो । कलेज नविकरण प्रक्रियामा देखिँदै आएको प्रशासनिक झन्झट हटाउन आवश्यक प्रक्रिया शुरु गरिएको बताउनुभयो।





