काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमालेलाई विजयी बनाउनका लागि साथ दिन सबैलाई आह्वान गर्नुभएको छ । पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमालेलाई निर्वाचनमा विजयी बनाउने काममा सक्रियतापूर्वक लागि दिन आग्रह गर्नुभएको हो ।
अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्नका लागि पनि आगामी निर्वाचनमा नेपाली जनताले एमालेलाई विजयी गराउनुपर्ने जिकिर गर्नुभयो । उहाँले मुलुकमा शान्ति, समृद्धि र विकासले गति लिन पनि आगामी निर्वाचनमा एमाले विजयी हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरु सबैलाई म आग्रह गर्न चाहन्छु–नेकपा एमालेलाई साथ दिनुहोस् । एमालेले तपाईहरुलाई साथ दिनेछ । एमाले तपाईहरुका लागि काम गर्छ । अरु कुनै उद्देश्य छैन । जनताका लागि काम गर्ने हो, देशका लागि काम गर्ने हो । आफना लागि काम गर्ने होइन एमालेले । त्यसकारण मेरो आग्रह यही छ–तपाईहरु सक्रियतापूर्वक एमालेलाई विजयी बनाउने काममा लाग्नुस । देशले जित्नेछ, शान्तिले जित्नेछ । सुशासनले् जित्नेछ, विकासले जित्नेछ ।’
अध्यक्ष ओलीले नेपाली समाजलाई सभ्य र सुसंस्कृतिको बाटोमा फर्काउन पनि आगामी निर्वाचनपछि एमालेले सरकार बनाउनुपर्ने बताउनुभयो ।





