काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्नुभएको छ । यस वर्षको श्रीपञ्चमी (वसन्त पञ्चमी ) को अवसरमा शुक्रवार बिहान हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा पौडेलले वसन्त श्रवण गर्नुभएको हो । हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले राष्ट्रपति पौडेललाई अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गर्नुभयो ।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले उहाँको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुखसहित विशिष्ट महानुभावहरूको उपस्थिति थियो ।
वसन्त पञ्चमीका अवसरमामा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिने प्रचलन छ । यस अवसरमा वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास रहेको छ ।

अनुप प्रधान/ न्युज एजेन्सी नेपाल





