फाइल तस्बिर
काठमाडाैं । नेपाल सरकारले भारत सरकारसँग ‘जी टु जी’ प्रक्रियाबाट खरिद गरेको युरिया मल वीरगन्ज नाकाबाट भित्रिन थालेको छ । कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगञ्जका अनुसार पुसको अन्तिम साता यो कन्साइनमेन्ट युरिया मल बोकेको पहिलो रेलवे र्याक वीरगन्ज नाकामा आइपुगेको छ । एक रेलवे र्याकमा सामान्यतया २ हजार ५ सय टन मल भित्रिने गरेको छ ।
भारत सरकारले तेस्रो मुलुकबाट खरिद गरी यो मल नेपाललाई दिएको हो । यो कन्साइनमेन्टअन्तर्गत कुल ३० हजार टन युरिया मल भित्रिनेछ । कम्पनीका भैरहवा र विराटनगर प्रादेशिक कार्यालयले पनि यसै कन्साइनमेन्टबाट युरिया मल पाउनेछन् । एक महिना यतामात्रै कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको २५ हजार टन डीएपी मल र ३० हजार टन युरिया मल पनि नेपाल भित्रिसकेको छ । डीएपी मलको आपूर्ति आदित्य बिरला कम्पनी र युरिया मलको आपूर्ति भारतको आइपीएल कम्पनीले गरेका हुन् । दुवै कन्साइनमेन्टको मलको कोटा लागेर वितरणसमेत भइरहेको छ ।
कम्पनीले ग्लोबल टेन्डरबाट भित्र्याउन लागेको पोटास मल तेस्रो मुलुकबाट भारतको विशाखापटनम् बन्दरगाहसम्म आइपुगेको छ । भारतको किसान ट्रेडर्स आपूर्तिकर्ता रहेको यो कन्साइनमेन्टअन्तर्गत १७ हजार ५ सय टन पोटास भित्रिने छ । यो बाहेक ३० हजार टन युरिया मल आपूर्तिको ठेक्का पाएको किसान ट्रेडर्सले नै तेस्रो मुलुकबाट खरिद गरी ल्याएको युरिया मल हाल कोलकाता बन्दरगाह आइपुगेको र सन इन्टरनेशनल कम्पनी आपूर्तिकर्ता रहेको ३० हजार टन युरिया मलको कन्साइनमेन्ट पनि कोलकाता बन्दरगाह पुगिसकेकाले यी दुवै कन्साइनमेन्टको युरिया मल पनि आउँदो एक महिनाभित्र भित्रिसक्ने बताइएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा मात्र कम्पनीको वीरगन्ज प्रादेशिक कार्यालयमा ६५ हजार ५ सय ५३ टन युरिया मल भित्रिएर ५० हजार ९ सय ३२ टन युरिया मातहतका मधेश, बागमती र गण्डकी प्रदेशका १५ जिल्लामा परिचालन भइसकेको उनले बताए। यसै अवधिमा कार्यालयले ३८ हजार ३ सय ३३ टन डीएपी मल भित्र्याएकोमा ३३ हजार ८ सय ७ टन डीएपी मल मातहतका कार्यालयहरूमा परिचालन भइसकेको कृषि सामग्री कम्पनी मधेश प्रादेशिक कार्यालय वीरगन्जले जनाएको छ । हाल कार्यालयसँग वीरगन्जका विभिन्न गोदामहरूमा गरी १२ हजार ६ सय टन युरिया र ८ हजार १ सय ६२ टन डीएपी मल र ३ सय ७१ टन पोटास मौज्दात छ ।





