काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । महामन्त्री पौडेलले मंगलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गर्नुभएको हो । पौडेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार भएर जित हासिल गर्नुभएको थियो ।
काठमाडौ– ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेद्वार बनाएको छ । गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै प्रतिष्पर्धा भएको थियो । यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ । शीर्ष नेताहरुको प्रतिष्पर्धा हुने भएकोले काठमाडौ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मंगलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।




