एजेन्सी,२९ माघ । ला लिगामा शीर्ष स्थानको बार्सिलोना गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो । बार्सिलोनाले जारी लिगमा गोल नगरेको यो पहिलो खेल हो ।
बराबरीमा रोकिंदा बार्सिलाना र दोस्रो स्थानको एथ्लेटिको मड्रिडबीचको अंक दूरी ७ अंकमा झरेको छ । बार्सिलोनाले खेल पूरै आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्न नसक्दा गेटाफेसँग अंक बाँड्नुपरेको हो । गएराति भएको अर्को खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ३–१ ले पराजित गरेको छ । लेभान्टेमाथिको जितसँगै भ्यालेन्सिया तेस्रो स्थानमा उक्लिएको छ । भ्यालेन्सियाको २३ खेलबाट ४३ अंक छ भने एक खेल कम खेलेको रियल मड्रिडको ४२ अंक छ ।