काठमाडौं । वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ । उपचारका लागि मैतीदेवीस्थित निवासबाट वीर अस्पताल ल्याउने क्रममा उहाँको निधन भएको हो । उहाँको आजै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।
वि.सं. १९९८ कात्तिक २५ गते ओखलढुङ्गाको साविक वरुणेश्वर गाउँ विकास समिति–३, रामपुरमा जन्मिनु भएका दाहाल नेपालको पत्रकारिता क्षेत्रको विकास, अभिव्यक्ति स्वतन्त्रताको रक्षा र लोकतन्त्र स्थापनाका लागि अदम्य साहस, निष्ठा र संघर्षका प्रतीकका रूपमा परिचित हुनुहुन्थ्यो । पञ्चायतकालको कठोर निरंकुश शासनमा समेत अन्यायका विरुद्ध सत्यको पक्षमा कलम चलाउँदै उहाँले जनताको आवाज बुलन्द पार्न महत्त्वपूर्ण योगदान दिनुभयो ।
स्वर्गीय जीवनाथ दाहाल र नीलकुमारी दाहालका सुपुत्र दाहालले एम.ए. (नेपाली) सम्मको उच्च शिक्षा हासिल गर्नुभएको थियो । साहित्यिक चेतनाले ओतप्रोत उहाँको पत्रकारिता यात्रा विचार, सिद्धान्त र व्यवहारको सशक्त संयोजनका रूपमा स्थापित रह्यो । उहाँका श्रीमती सुधा दाहाल तथा छोरा सुधांशु दाहाल र हिमांशु दाहाल हुनुहुन्छ ।
पञ्चायतकालमा “राष्ट्रपुकार साप्ताहिक” मार्फत प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउँदा उहाँ पटक–पटक पक्राउ पर्नुका साथै करिब तीन वर्ष जेल जीवन बिताउन बाध्य हुनुभएको थियो। यद्यपि, ती कठिन परिस्थितिले उहाँको साहस र प्रतिबद्धतालाई अझ सुदृढ बनायो ।





