काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गर्नुभएको छ । प्रमुख दलका नेताहरुले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गर्नुभएको हो ।
काठमाडौंमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौती र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरुको साझा कर्तव्य भएको समेत बताउनुभयो ।
उहाँले संविधानको आवश्यक समिक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताउनुभयो ।
अध्यक्ष दाहालले जेन–जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षले यथेष्ट ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो ।





