धनराज गुरुङको प्रश्न : सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८२, शुक्रबार

धनराज गुरुङको प्रश्न : सबै आ–आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ ?

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताउनुभएको छ । काँग्रेस नेता डा. शेखर कोईराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फरक मत राखेका नेताहरुलाई पनि समेटेर मूलधारमा ल्याउने बताउनुभयो । उहाँले पार्टीलाई कुनैपनि हालतमा चोइटिन नदिने दाबी गर्नुभयो । विशेष महाधिवेशन पक्षधरलाई साथ दिने वा नदिने भन्नेकुरा गौण भएको पनि उल्लेख गर्नुभयो ।

उपसभापति गुरुङले सिंगो पार्टीलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने बताउनुभयो । सबै आफ्नो आफ्नो बाटो हिँड्दा पार्टी कहाँ पुग्छ भन्नेकुरा विचार गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टीलाई कुनैपनि हालतमा चोईटिने, टुक्रिन दिनेकुरा हुँदैन भन्ने कोणबाट हामीले कुरा गरेका छौँ । सँगै सबै साथीहरुलाई समेटेर फेरि पार्टीमा मूलधारमा नै लिएर जाने भन्नेकुरा छ । विशेष महाधिवेशन पक्षधरलाई साथ दियो दिएन भन्नेकुरा गौण हो । सिंगो पार्टीलाई कसरी लैजाने भन्नेकुरा प्राथमिकतामा हुन्छ । कसलाई साथ दिने नदिने भन्नेकुरा गौण हो । पार्टी कहाँनेर पुग्छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । पार्टीलाई कसरी सबलीकरण गर्दै लैजाने भन्नेकुरा प्रमुख कुरा हो, अहिले । परिवारमा दिनदिनै झगडा गर्यो भने के हुन्छ, त्यो परिवार ? त्यो परिवार बलियो हुन्छ कि कमजोर हुन्छ ? त्यस्तै गरेर पार्टी पनि एउटा परिवार हो । परिवारभित्र धेरै झगडा गर्नहुन्न ।’

उहाँले पार्टीमा धेरै विवाद सिर्जना हुँदा पार्टी कमजोर बन्ने र त्यसको फाइदा अरुलाई हुने बताउनुभयो ।

Leave a Reply