हटौडा, २८ माघ । प्रदेश नम्बर ३ का सांसदहरुले प्रदेशको समग्र विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
आजको प्रदेशसभा बैठकमा बोल्ने अधिकांश सांसदहरुले सम्भावना र चुनौती सँगसँगै भएकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका हुन् ।
बैठकमा एमाले संसदीय दलका नेता डोरमणि पौडेलले दलगत स्वार्थबाट माथि उठेर काम गरे ५ बर्ष भित्र जनताको मुहारमा हाँसो र सम्वृद्धि ल्याउन सकिने बताए । निश्चित मापदण्ड बनाएर विकासको गतिलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले ठुलो संभावना र चुनौतिकोबीचमा रहेकाले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले जनताको सम्वृद्धिका लागि जनप्रतिनिधिको बोलि र व्यवहार एउटै हुनुपर्ने बताए ।
बैठकले प्रदेशसभा नियमावलि मस्यौदाका लागि ११ सदस्यीय मस्यौदा समिति गठन गरेको छ । समितिलाई कार्य सुरु गरेको मितिले १५ दिनको समय दिईएको छ । साना दलका सांसदहरुले भने हटौडा उपमहानगरपालिकाले प्रदेशका सांसदहरुलाई जग्गा उपलब्ध गराउने भनेकोमा आपत्ति जनाए ।
सांसदहरुलाई उपलब्ध गराउने उपहार स्वरुपको जग्गा र राजधानीको विषय विनिमय हुन नसक्ने उनीहरुको भनाइ छ । उनीहरुले सांसदलाई जग्गा उपलब्ध गराउनुको सट्टा प्रदेशका १३ वटै जिल्लाका भूमीविहिनको समस्या सम्बोधन गर्न सुझाव दिए ।