राष्ट्रिय पोशाक : पहिचान, स्वाभिमान र राष्ट्रनिर्माणको मौलिक आधार | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

राष्ट्रिय पोशाक : पहिचान, स्वाभिमान र राष्ट्रनिर्माणको मौलिक आधार

विश्वव्यापीकरणको तीव्र प्रभावबीच आफ्नै पहिचान जोगाइराख्नु नेपाली समाजको साझा चुनौती बनेको छ । यही सन्दर्भमा राष्ट्रिय पोशाक तथा नेपाली टोपी दिवसले नेपालीपन, स्वाभिमान र मौलिक संस्कृतिप्रति पुनः चेतना जगाएको छ ।

 

-माेहनप्रसाद मैनाली
‘राष्ट्रिय पोशाक तथा नेपाली टोपी दिवस’ नेपाली समाजका लागि औपचारिक उत्सवको दिन मात्र होइन, आत्मपहिचान पुनर्जागरणका लागि अवसरको रुपमा लिइएको छ । एक दशकअघि केही जागरुक युवाहरूको पहलमा शुरु भएको यो दिवस आज राज्य, समाज र प्रवासी नेपाली समुदायसम्म फैलिएको छ, राष्ट्र प्रेमको चेतनामा थप विकास छ । विश्वव्यापीकरण, आधुनिकता र उपभोक्तावादको तीव्र प्रभावबीच आफ्नै मौलिक पहिचान जोगाइराख्ने चेतना राष्ट्रका लागि दीर्घकालीन सम्पत्ति हो।

कुनै पनि स्वतन्त्र, सार्वभौम र स्वाभिमानी राष्ट्रको पहिचान त्यहाँको भाषा, संस्कृति, इतिहास र पोशाकसँग जोडिएको हुन्छ । राष्ट्रिय भाषा विचारको माध्यम हो भने राष्ट्रिय पोशाक दृश्य पहिचानको प्रतीक हो । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भए पनि पुरुषका लागि दौरा सुरुवाल र महिलाका लागि गुन्यू चोलीसहितको राष्ट्रिय पोशाक र नेपाली टोपीले साझा राष्ट्रिय प्रतीकको भूमिका निर्वाह गरेका छन् । यसले विविधतालाई समेटेर एउटै राष्ट्रिय भावनामा बाँध्ने काम गरेको छ ।
दौरा–सुरुवाल र गुन्यु चोली नेपाली समाजको ऐतिहासिक, सांस्कृतिक र दार्शनिक चेतनासँग गहिरो रूपमा गाँसिएको पोशाक हो । राज्य सञ्चालन, कूटनीति, प्रशासन र सामाजिक समारोहमा यसको प्रयोगले नेपालीपनलाई संस्थागत गरेको छ । सरल देखिए पनि यसमा निहित मर्यादा, अनुशासन र गरिमाले राष्ट्रिय चरित्र झल्काउँछ । आधुनिक पहिरनको प्रभाव बढे पनि औपचारिक र राष्ट्रिय अवसरमा दौरा–सुरुवाल र गुन्यु चोलीको उपस्थिति अझै सम्मानको विषय बनेको छ ।

नेपाली टोपी, विशेषतः ढाका टोपी, श्रम, सीप र सौन्दर्यको अनुपम उदाहरण हो । ढाका बुन्ने परम्परा नेपाली महिलाको धैर्य, सृजनशीलता र आत्मनिर्भरताको प्रतीक हो । ढाकामा प्रयोग हुने रङ, धागो र बुट्टाहरू केवल सजावट मात्र होइनन्, तिनले भूगोल, समाज र सांस्कृतिक चेतनाको कथा बोकेका हुन्छन्, ढाका टोपी उठेको चुचो भागले विश्वकै उच्च शिखर सगरमाथाको प्रतिनिधित्व गरेको छ भन्दा पनि दुईमत नहोला । ढाका टोपी हरेक नेपालीको सामूहिक स्मृतिको अंश बनेको छ, गरिमा बनेको छ, ऐतिहासिक धरोहर बनेको छ ।

ढाका टोपीभित्रको रहस्य यसको विविधता र निरन्तरतामा लुकेको छ । एउटै ढाँचामा पनि फरक–फरक बुनाइ, रङ संयोजन र कलात्मक प्रयोग देखिनु नेपाली समाजको बहुलता र सहअस्तित्वको प्रतीक हो । परम्परालाई जोगाउँदै समय अनुसार परिवर्तन स्वीकार गर्ने क्षमता नै ढाका टोपीको शक्ति हो । यही कारण आज यो टोपी परम्परागत मात्र नभई आधुनिक पहिरनसँग पनि सहज रूपमा मेल खान थालेको छ ।

राष्ट्रिय पोशाकको संरक्षण भावनात्मक विषयमा मात्र सीमित छैन, यसको आर्थिक, सामाजिक र राजनीतिक महत्व पनि उत्तिकै छ । स्थानीय कपडा उद्योग, हस्तकला, रोजगारी र सांस्कृतिक पर्यटनसँग यसको प्रत्यक्ष सम्बन्ध छ । यदि राज्यले नीति, शिक्षा प्रणाली र कूटनीतिक अभ्यासमा राष्ट्रिय पोशाकलाई प्रोत्साहन ग¥यो भने यसले आत्मनिर्भरता र राष्ट्रिय गौरव दुवैलाई सुदृढ बनाउन सक्छ ।

ग्रेगोरिन पात्रो अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ तारिख नेपालभर राष्ट्रिय पोशाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइनुले यही चेतनालाई थप बल दिएको छ । ‘नेपाली टोपी ः हाम्रो शान, हाम्रो पहिचान’ जस्ता नाराले मौलिकता, सम्पदा र धरोहर संरक्षणको सन्देश प्रष्ट रूपमा प्रवाह गरेका छन् । राजधानीदेखि गाउँसम्म आयोजित ¥याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनीले समाजमा सकारात्मक बहस सिर्जना गरेको छ । सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा गम्भीर हुन दबाब दिएको छ ।

राष्ट्रिय पोशाक तथा नेपाली टोपी दिवसले पहिचान जोगाउनु विगतमा फर्कनु होइन, भविष्यलाई मौलिक आधारमा उभ्याउनु हो भन्ने प्रष्ट सन्देश दिएको छ । जब राज्य, समाज र युवा पुस्ता एउटै सांस्कृतिक सूत्रमा गाँसिन्छन्, तब मात्र राष्ट्र सशक्त बन्छ । दौरा–सुरुवाल, नेपाली टोपी र गुन्यु चोलीको राष्ट्रिय पोशाकले नेपालीपनलाई चिनाइरहेको छ, एकताको सुत्रमा बाँधिरहेको छ ।

Leave a Reply