‘९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव’ | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

‘९५ प्रतिशत मुटुरोगको उपचार नेपालमै सम्भव’

काठमाडाैं । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटुरोगका करिब ९५ प्रतिशत उपचार स्वदेशमै सम्भव भइसकेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले मुटुरोग सम्बन्धी बाँकी पाँच प्रतिशत उपचार, विशेषगरी मुटुको प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) र कृत्रिम मुटु जडान सेवा अझै सुरु हुन नसकेको उल्लेख गर्नुभयो । उहाँका अनुसार हार्ट ट्रान्सप्लान्ट र आर्टिफिसियल हार्ट जडानका लागि आवश्यक कानुनी प्रक्रिया अधिकांश पूरा भइसकेको छ । तर स्वास्थ्य मन्त्रालयबाट अस्पताललाई दिनुपर्ने लाइसेन्स नआएकाले सेवा शुरु हुन नसकेको उहाँको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अस्पतालले अनुमति पत्र नपाएकै कारण मुटु प्रत्यारोपण गर्न मिल्न नसकेको उल्लेख गर्दै उहाँले लाइसेन्स प्राप्त भए लगत्तै सेन्टरबाट सेवा सुरु गर्न सकिने बताउनुभयो ।

उहाँले नेपालमा टिबी, डेङ्गु र डायरिया सबैभन्दा बढी देखिने रोग रहेको उल्लेख गर्दै फोक्सोसम्बन्धी रोगहरू पनि चुनौतिकै रूपमा रहेको बताउनु भयो । स्वास्थ्य क्षेत्रमा नेपालले कुष्ठरोग उन्मूलन गर्न सफल भएको र कालाजारको प्रकोप पनि निकै घटेको जानकारी दिँदै उहाँले खोप कार्यक्रम देशव्यापी रूपमा विस्तार हुनु मुख्य उपलब्धी भएको बताउनुभयो । डा. भट्टराईले डेङ्गु अझै पनि गम्भीर चुनौतीका रूपमा रहेको भन्दै प्रत्येक वर्ष यसकै कारण धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मुटुरोगमा अहिलेसम्म हामी ९५ प्रतिशत रोगको उपचार नेपालमै गरिरहेका छौँ । अहिले पनि हामीले पाँच प्रतिशत रोगको उपचार हामीले गर्न सकिएका छैनौँ । त्यो भनेको हार्ट ट्रान्सप्लान्टेसन (मुटुको प्रत्यारोपण) र आर्टिफिसिय हार्टहरु राख्ने भएको छैन । त्यसमा हामीले काम गरिरहेका छौँ र त्यसमा केही कानूनी कुराहरु पनि पुरा भएको छ । अहिले मन्त्रालये हामीलाई लाइसेन्स दिन बाँकी छ । स्वास्थ्य मन्त्रालयले त्यो लाइसेन्स दिने बित्तिकै हामीले सेन्टरबाट त्यो काम गर्न सक्छौँ । त्यो प्रक्रिया अगाडि बढाइदिनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु । मेरो व्यःित्तगत लाइसेन्स भएपनि हस्पिटलको लाइसेन्स नभएसम्म हामीले कानूनी रुपले हार्ट ट्रान्सप्लान्ट गर्न मिल्दैन । नेपालमा सबैभन्दा धेरै हुने भनेको टिभी, डेङ्गु र डायरिया हो । अहिले पनि यी तीनवटा रोगहरु धेरै नै छ । र फोक्सोसम्बन्धीको रोगहरु पनि छ । स्वास्थ्य क्षेत्रमा हामीले प्राप्त गरेको उपलब्धी भनेको हाम्रो नेपालबाट कुष्ठरोग चाँही उन्मुलन भइसक्यो । कालाजार पनि अहिले निकै घटिसकेको छ । र अहिले हाम्रो भ्याक्सिनेसन प्रोगाम व्यापक रुपमा फैलिएको छ । डेङ्गु अहिले पनि हाम्रो लागि निकै चुनौती बनिरहेको छ । डेङ्गुबाटै प्रत्यके वर्ष हाम्रो देशमा धेरै जनाको ज्यान गइरहेको छ । क्लाइमेट चेन्जको कारण केही रोगहरु चुनौतीका रुपमा खडा भएका छन् । एन्टीबायोटिकले समेत काम नगर्ने अवस्था आइसकेकोले चिकित्सकको परामर्शअनुसार मात्र प्रयोग गर्नुपर्ने कानूनी प्रावधान ल्याउन जरुरी छ ।’

उहाँले जलवायु परिवर्तनका कारण नयाँ–नयाँ रोग चुनौतीका रूपमा देखा पर्न थालेको कारण  एन्टिबायोटिकले समेत काम नगर्ने अवस्था आउन थालेकाले चिकित्सकको परामर्शबिनै औषधि प्रयोग रोक्न कानुनी व्यवस्था आवश्यक रहेको पनि बताउनुभयो ।

Leave a Reply