काठमाडाैं । अर्थमन्त्री रामेश्वर खनालले आगामी फागुनमा हुने चुनावमा चालु बजेटबाटै खर्च जुट्ने बताउनभुएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खनालले चालु आर्थिक वर्षको बजेटमा तयारी बिनाका ३ करोडका ४ हजार योजनामा रहेको बजेटलाई रोक्का गरेर चुनावमा खर्च जुटाइएको बताउनु भयो ।
उहाँका अनुसार करिब १२० अर्ब तयारी पूरा नभएका आयोजनाहरुको रोक्का आफू अर्थमन्त्री भएर आएपछि गरेको बताउनुभयो । ती आयोजना मध्ये केहीमा टेण्डर भएका, हुने क्रममा रहेका आयोजनाहरुको भने फुकुवा गरिएको छ ।
फुकुवा नभएका आयोजनामा रहेको बजेटबाट सरकारले चुनाव र पुनर्निमाणको काम गर्नेछ ।
अर्थमन्त्री खनालका अनुसार चुनावमा भारत–चीनको सहयोग लिइँदैछ । छिमेकी देशहरुले खुला दिलले सहयोग गर्ने बताएकाले भारत–चीनबाट चुनावमा सहयोग लिन लागिएको उहाँले बताउनुभयो । खनालका अनुसार त्यो सहयोग आर्थिक सहयोग भने होइन, चुनावमा आवश्यक पर्ने कतिपय सवारीहरु भारत चीनले दिँदैछन् ।
उहाँले ४–५ अर्ब बराबरको भेइकल, इकुमेन्टहरु भारत चीनबाट चुनावका लागि सहयोग लिइएको बताउनुभयो ।





