थप सान्दर्भिक बन्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवस दिवस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८३, आइतबार

थप सान्दर्भिक बन्दै राष्ट्रिय एकता तथा मेलमिलाप दिवस दिवस

काठमाडाैं । आज पुस १६ गते, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस दिवस मनाइदै छ । पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिन मनाउने गरिएको हो ।

आफूमाथि आठ वटा मृत्युदण्डका मुद्दा अदालतमा चलिरहेका बेला राष्ट्रियताका लागि जीवन अर्पण गर्न तयार भएर बिपी कोइराला भारतबाट स्वदेश फर्कनु भएको हो । २०३३ साल पुस १६ गते नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेतृ शैलजा आचार्य, नेताहरु खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायत नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवन त्याग गरी स्वदेश फर्किनु भएको थियो ।

भारत निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको घटना नजिकबाट हेरिरहनुभएका कोइरालालगायतका नेताले ४९ वर्ष अघि स्वदेश फकिनु भएको हो । २०१७ पुस १ गतेको तत्कालीन राजा महेन्द्रको शाही ‘कु’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाइएको थियो ।

त्यसै वर्ष फागुन २६ गते सुन्दरीजलमा बन्दी गृह बनाएर स्थानान्तरण गरिएको थियो । आठ वर्षपछि २०२५ सालमा उपचारका लागि बिपीलाई रिहा गरिएको थियो । रिहापछि उपचारका लागि भारत पुगेका कोइरालाले त्यहाँ निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध राजनीतिक क्रियाकलाप सुरु गर्नुभएको थियो । त्यसबेला भारतले सिक्किमलाई गाभेको, भारतबाट पाकिस्तान अलग्गिएको र एसियाका अन्य देशमा विखण्डन सुरु भएकोदेखि राष्ट्रियता कमजोर हुन नदिन राष्ट्रिय मेलमिलाप तथा एकताको नीति लिई नेपाल फर्किनु भएको हो ।

२४ रोपनी क्षेत्रफलको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयमा परिणत गरिएको छ । आज कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरी एकता तथा मेलमिलाप दिवस मनाउँदैछन् । यस अवसरमा बिपी सङ्ग्रहालयले पनि कार्यक्रम गर्ने जनाइएको छ । प्रत्येक वर्ष मनाइने पुस १६ गतेको मेलमिलाप दिवस औपचारिकतामा मात्र केन्द्रित भएको टिप्पणी पनि हुने गरेपनि वर्तमान राजनीतिक अवस्थामा यसकाे सान्दर्भिकता थप बढेकाे राजनीतिक चिन्तकहरूकाे भनाइ छ ।

Leave a Reply