काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना रहेको बताउनुभएको छ । प्रथम च्याउ दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले उपभोक्तामा च्याउको माग निरन्तर वृद्धि हुँदै गएकोले च्याउ खेतीको सम्भावना रहेको बताउनुभएको हो ।
न्यून आयस्रोत भएका किसानका लागि च्याउ खेती जीविकोपार्जनको उपयुक्त माध्यम भएको उहाँले बताउनुभयो । आधुनिक उच्च प्रविधि प्रयोग गरी औद्योगिक रूपमा व्यवसायिक च्याउ उत्पादन गर्नसके यसले रोजगारी सिर्जना समेत गर्नसक्ने उहाँको भनाई छ ।
उहाँका अनुसार हाल नेपालमा वार्षिक १५ हजार मेट्रिक टनभन्दा बढी ताजा च्याउ उत्पादन हुने गरेको छ । तर च्याउको माग भने करिब ७२ हजार मेट्रिक टन रहेको उहाँले बताउनुभयो । च्याउ ७१ भन्दा बढी जिल्लामा उत्पादन भएपनि ४७ जिल्लामा मात्रै व्यवसायिक रूपमा उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०८१/८२ मा ताजा वा चिस्यान गरिएको गोव्रे च्याउ ६ लाख ७१ हजार रुपैयाँ बराबरको २ हजार २ सय ६२ केजी आयात भएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार १ करोड १ लाख रुपैयाँ बराबरको १७ हजार १ सय ९८ केजी च्याउ निर्यात भएको छ ।
पछिल्लो समय अन्य प्रजातिका च्याउ पनि निर्यात हुन थालेको उहाँले बताउनुभयो । उहाँले च्याउमा मानव शरीरलाई आवश्यक १२ प्रकारका एमिनो एसिडमध्ये ९ प्रकारका एमिनो एसिड पाईने बताउनुभयो । प्रोटिन, कार्बोहाइड्रेट, चिल्लो पदार्थ र भिटामिनजस्ता पौष्टिक तत्व पनि च्याउमा पाइने उहाँको भनाई छ । तर नेपालमा च्याउ खेती अझै विस्तार गर्न नसकिएको उहाँले बताउनुभयो । रैथाने च्याउ तथा नयाँ प्रजातिको अध्ययन–अनुसन्धान, खेती प्रविधि विकास र दक्ष जनशक्तिको उपलब्धता नेपालमा पर्याप्त हुन नसकेको उहाँको भनाइ छ ।
उहाँले हाल राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्रबाट च्याउ प्रविधि प्रचार, मूल्य श्रृङ्खला विकास, अनुसन्धान र बीउ उत्पादनको काम हुँदै आएको बताउनु भयो । उहाँका अनुसार गत वर्षदेखि काभ्रेको कोपासीस्थित रेशम विकास केन्द्रमा च्याउको राष्ट्रिय स्रोत केन्द्र विकास गर्ने कार्यक्रम शुरु गरिएको छ । यसवर्ष च्याउको गुणस्तर नियमन, बीउ उत्पादन परीक्षणलगायत कार्यका लागि आधुनिक प्रयोगशाला निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
प्रथम च्याउ दिवसको अवसरमा च्याउ मेला तथा परिकार महोत्सव गरिएको छ भने उत्कृष्ट च्याउ किसानलाई सम्मान समेत गरिएको छ । गत पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले पुस १५ लाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । हाल नेपालमा गोव्रे, खन्ने, पराले, सिताके, वेस्टन, रातो, दुधे च्याउलगायत विभिन्न जातका च्याउ व्यवसायिक रूपमा उत्पादन हुँदै आएका छन् ।





