काठमाडाैं । फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन् । आयोगका अनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेश गरेका छन् ।
तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आईतबार र सोमबार बन्दसूची पेश गर्ने समय तोकिएको छ । आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिनुभयो ।
पहिलो चरणमा सम्बन्धित दलहरुले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहे/नरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उहाँले बताउनुभयो । निस्सा लिएपछि बन्दसूची पेश गर्नको लागि दर्ता गरिने उहाँको भनाइ छ । उहाँले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रवन्ध मिलाइएको पनि जानकारी दिनुभयो । उहाँले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताउनु भयो । सोमवार ६ बजेसम्म आउने दलहरुलाई सेवा दिने बताउनुभयो।
प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्था अनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गर्नुभयो । आयोगले त्यसको लागि राजनीतिक दलहरुलाई अभिमुखिकरण पनि गरेको उहाँको बताउनुभयो । उहाँले संसोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिनुभयो । उहाँका अनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानून अनुसार मिले/नमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने बताउनुभयो ।





