शिक्षा प्रणालीको गुणस्तर र सुधार : व्यावहारिक शिक्षाको अभाव | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

शिक्षा प्रणालीको गुणस्तर र सुधार : व्यावहारिक शिक्षाको अभाव

नेपालको शिक्षा प्रणाली आज गुणस्तर र व्यावहारिकताको गम्भीर संकटमा छ । किताबी ज्ञानमा सीमित शिक्षाले सीप, रोजगारी र आत्मनिर्भरताको बाटो खोल्न सकेको छैन । 

-माेहनप्रसाद मैनाली

नेपालको शिक्षा प्रणाली लामो समयदेखि गुणस्तर, पहुँच र उपयोगिताका दृष्टिले बहसको केन्द्रमा छ । पाठ्यक्रमको सैद्धान्तिक बोझ, परीक्षामुखी प्रवृत्ति र जीवन उपयोगी सीपको कमीले विद्यार्थीलाई ज्ञानभन्दा प्रमाणपत्रतर्फ धकेलेको प्रष्ट छ । यसले रोजगारी र उद्यमशीलतामा प्रत्यक्ष प्रभाव पार्दै देशको मानव पुँजीलाई कमजोर बनाएको छ । शिक्षा भनेको किताबी ज्ञानमात्रै होइन, जीवनसँग जोडिएको सीप, सोच र नैतिकताको विकास पनि हो ।

नेपालमा शिक्षाको गुणस्तर खस्किनुका विभिन्न कारणहरु छन् । शिक्षक तालिम र प्रेरणाको कमी, समय अनुसारको पाठ्यक्रम अद्यावधिक नहुनु, प्रयोगशाला र कार्यशालाको अभाव तथा शैक्षिक पूर्वाधारमा असमानता प्रमुख समस्या हुन् । ग्रामीण र शहरी विद्यालयबीचको खाडल, निजी र सामुदायिक विद्यालयबीचको गुणस्तरको फरकले शिक्षा प्रणालीलाई अलमलमा पारेको छ । नतिजामुखी मूल्याङ्कन प्रणालीले रचनात्मकता र आलोचनात्मक सोचलाई दबाएको छ ।

व्यावहारिक शिक्षाको अभाव नेपालको शिक्षा प्रणालीको सबैभन्दा ठूलो कमजोरी हो । विद्यार्थीले पढेको विषयलाई जीवनमा कसरी प्रयोग गर्ने भन्ने सिकाइ नहुँदा सीप र आत्मविश्वास दुवै कमजोर भइरहेको छ । कृषि, प्राविधिक, सूचना प्रविधि, स्वास्थ्य, पर्यटन जस्ता क्षेत्रमा प्रयोगात्मक सिकाइ आवश्यक भए पनि विद्यालय र कलेजमा सैद्धान्तिक कक्षा नै हावी छन् । यसले श्रम बजार र शिक्षा बीचको दूरी बढाएको छ ।

नेपालमा व्यावहारिक शिक्षा किन लागू हुन सकेन भन्ने प्रश्नमा नीति, संरचना र मानसिकता तीनै तहमा समस्या देखिन्छ । नीति त बनेका छन् तर कार्यान्वयन कमजोर भइरहेको छ । बजेटको कमी र प्राथमिकताको अभावले प्रयोगशाला, उपकरण र प्रशिक्षक उपलब्ध गराउन सकिएको छैन । समाजमा ‘डिग्री’ वा प्रमाणपत्रलाई मात्र प्रतिष्ठा दिने मानसिकताले सीपमूलक शिक्षा दोस्रो दर्जा पुगेको छ, जसले विद्यार्थी र अभिभावक दुवैलाई सैद्धान्तिक बाटोमै सीमित गराएको छ ।

विदेशी शिक्षा प्रणालीसँग तुलना गर्दा नेपाल धेरै पछाडि देखिन्छ । विदेशमा विद्यालय तहदेखि नै परियोजना आधारित सिकाइ, इन्टर्नसिप, उद्योग–शिक्षा सहकार्य र सीप प्रमाणीकरणलाई महत्व दिइन्छ । विद्यार्थीले कक्षामा सिकेको कुरा प्रयोगशाला, कार्यस्थल र समुदायमा लागू गर्ने अवसर पाउँछन् । नेपालमा भने पाठ्यपुस्तक र परीक्षा केन्द्रित शिक्षाले यस्तो अभ्यासलाई सीमित बनाएको छ ।

विदेशमा पढ्न जाने विद्यार्थीको बढ्दो लहरले देशको प्रतिभा बाहिरिने समस्या गहिरिएको छ । यसलाई रोक्न नेपालमै गुणस्तरीय, विश्वसनीय र रोजगारसँग जोडिएको शिक्षा दिनु आवश्यक छ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त पाठ्यक्रम, आधुनिक प्रविधि, उद्योगसँग सहकार्य र आकर्षक अनुसन्धान अवसरले विद्यार्थीलाई देशमै टिकाउन सकिन्छ । अध्ययनपछि रोजगारी र उद्यमको प्रष्ट मार्ग देखाउनु अनिवार्य छ जुन हुन सकिरहेको छैन ।

शिक्षा सुधारका सन्दर्भमा वर्तमान शिक्षामन्त्री तथा नवप्रवर्तनकर्मी महावीर पुनले व्यावहारिक र प्रविधिमैत्री शिक्षाको निरन्तर वकालत गर्दै आएका छन् । उनले शिक्षा केवल सर्टिफिकेट होइन, समस्या समाधान र सिर्जनशीलतासँग जोडिनुपर्छ भन्ने दृष्टिकोण सार्वजनिक बहसमा ल्याएका छन् । यस्ता आवाजले नीति निर्मातालाई विद्यालय र विश्वविद्यालयलाई प्रयोगात्मक सिकाइ केन्द्र बनाउनेतर्फ सोच्न बाध्य पार्न सक्छ ।

व्यावहारिक शिक्षा लागू गर्न पाठ्यक्रम पुनर्संरचना पहिलो कदम हो । विद्यालय तहदेखि नै सीपमा आधारित विषय, परियोजना कार्य, स्थानीय समस्यामा आधारित अध्ययन र अनिवार्य इन्टर्नशिप समावेश गर्नुपर्छ । शिक्षकलाई निरन्तर तालिम, विद्यालयमा प्रयोगशाला र डिजिटल उपकरण तथा निजी क्षेत्रसँग साझेदारी गरेर सिकाइलाई जीवित बनाउन सकिन्छ । शिक्षा प्रणालीको गुणस्तर सुधार राष्ट्रिय प्राथमिकता बन्नुपर्छ । नीति र बजेट, समाजको सोच र विद्यालयको अभ्यास एकै दिशामा नजाँदासम्म परिवर्तन सम्भव छैन । व्यावहारिक शिक्षा लागू गरेर मात्र नेपालले सक्षम, आत्मनिर्भर र देशमै आफैले अवसर सिर्जना गर्न सक्ने युवाशक्ति उत्पादन गर्न सक्छ ।

Leave a Reply