त्रिवि ५१औं दीक्षान्त : ८९ हजार विद्यार्थी दीक्षित हुँदै | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

त्रिवि ५१औं दीक्षान्त : ८९ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले यस वर्ष ८९ हजार १ सय ९१ विद्यार्थीलाई दीक्षित गर्दै छ । आज दशरथ रंगशालामा ५१औं दीक्षान्त समारोह आयोजना गर्दै त्रिविले स्नातकदेखि विद्यावारिधि उपाधि प्राप्त गरेका ८९ हजार १ सय ९१ विद्यार्थीलाई दीक्षित गर्न लागेको हो ।

दिक्षान्त समारोहमा सहभागी हुन १६ हजार ३ सय ८० जनाले आवेदन दिएका छन्,जसमा व्यवस्थापन संकायका विद्यार्थीको सबैभन्दा बढी छन् । दीक्षान्त समारोहमा नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथि रहनु हुने छ । दीक्षित हुने र समारोहमा सहभागी हुने विद्यार्थीको संख्या सबैभन्दा बढी व्यवस्थापन संकायको छ । गत शैक्षिक सत्रमा ४३ हजार ६ सय १० जनाले व्यवस्थापनमा स्नातकदेखि विद्यावारिधिसम्मको शैक्षिक उपाधि हासिल गरेका मध्ये दीक्षान्त समारोहमा ७ हजार ८ सय ४९ जना सहभागी हुँदै छन् ।

शिक्षाशास्त्र संकायमा दीक्षित हुनेको संख्या १६ हजार ४ सय ६७ रहेको त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । तीमध्ये १ हजार ५ सय ३५ जनाले दीक्षान्त कार्यक्रममा सहभागी हुन आवेदन दिएका छन् । मानविकी तथा सामाजिक शास्त्रबाट १४ हजार ८ सय ५१, विज्ञान तथा प्रविधितर्फ ७ हजार ४ सय ६४, चिकित्सा शिक्षाका २ हजार २ सय ८०, कानुनका २ हजार ३ सय ३५, इन्जिनियरिङका १ हजार ४ सय ६३, कृषि तथा पशुका ४ सय ७६, वन विज्ञानका २ सय ४५ विद्यार्थी दीक्षित हुने त्रिविले जानकारी दिएको छ ।

दीक्षित हुनेमध्ये विद्यावारिधि गर्ने १ सय ५२ छन् ।

विज्ञान तथा प्रविधि र मानविकी संकायबाट विद्यावारिधि गर्नेको संख्या ४३/४३ जना छ । शिक्षा संकायमा ३०, चिकित्साशास्त्रमा १६, व्यवस्थापनमा १, कानुनमा ५ र इन्जिनियरिङमा २ जनाले विद्यावारिधि गरेको त्रिभुवन विश्वविद्यालयको तथ्यांक छ । आवेदन दिएर शुल्क बुझाएका विद्यार्थी मात्र दीक्षान्त कार्यक्रममा सहभागी हुन पाउनेछन् । उनीहरूले दीक्षान्तमा लगाउने गाउनलगायत पोसाक वितरण गरिसकिएको छ ।

१ असार २०८१ देखि २०८२ जेठ मसान्तसम्म शैक्षिक उपाधि प्राप्त गर्ने विद्यार्थीलाई दीक्षित गर्न लागिएको हो । ८९ हजार १ सय ९१ विद्यार्थी दीक्षित हुने भए पनि समारोहमा सहभागी हुन उत्तीर्णमध्ये १८ दशमलव ३१ प्रतिशत छात्रछात्राले मात्र इच्छा देखाएका हुन् । गतवर्षको दीक्षान्तमा ७४ हजार १ सय ४९ जना विद्यार्थी दीक्षित भएका थिए । तीमध्ये १४ हजार जना उपस्थित भएको त्रिविले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा यसपालि शैक्षिक उपाधि पाएका विद्यार्थी १५ हजार ४२ जनाले धेरै छन् । १५ सय शुल्क लिएर त्रिविले दीक्षान्त पोसाक वितरण गरेको थियो । त्यसमध्ये १२ सय रुपैयाँ दीक्षान्त कार्यक्रमपछि फिर्ता हुने सूचना कार्यालयले जारी गरेको छ ।

Leave a Reply