मौसमी स्वास्थ्य समस्या : सतर्कता अपनाऔँ | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

मौसमी स्वास्थ्य समस्या : सतर्कता अपनाऔँ

चिसो मौसमसँगै देखिने रुघाखोकी, टन्सिल, भाइरल ज्वरोलगायतका स्वास्थ्य समस्या हाम्रो दैनिक जीवनमा सामान्यझैँ लाग्न सक्छन्, तर लापरवाही गरेमा यी समस्या जटिल रोगमा रूपान्तरण हुन सक्छन् । बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगी सबैभन्दा बढी जोखिममा रहने भएकाले उनीहरूप्रति विशेष सतर्कता अपनाउन आवश्यक छ ।

 

-माेहनप्रसाद मैनाली

चिसो मौसमको मध्य शुरु भएसँगै मौसमी स्वास्थ्य समस्या दोहोरिन थालेका छन् । तापक्रम घट्दै जाँदा मानव शरीरको प्रतिरोधात्मक क्षमता कमजोर हुने र वातावरणमा भाइरस तथा ब्याक्टेरियाको सक्रियता बढ्ने भएकाले रुघाखोकी, टन्सिल, भाइरल ज्वरो, निमोनिया, दमको समस्या, छालासम्बन्धी रोग तथा जोर्नी दुखाइ जस्ता समस्या बढ्ने चिकित्सकहरूको निष्कर्ष छ । विशेषगरी बिहान र साँझको चिसो हावा, कुहिरो, धुलो र प्रदूषणले श्वासप्रश्वास प्रणालीमा प्रत्यक्ष असर पार्ने भएकाले चिसो मौसमलाई सामान्य रूपमा लिनु स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन्छ ।

रुघाखोकी र टन्सिल चिसो मौसममा सबैभन्दा धेरै देखिने समस्या हुन् । यी रोग भाइरस र ब्याक्टेरियाका कारण हुने भए पनि अधिकांश अवस्थामा भाइरल संक्रमण नै प्रमुख कारण बन्ने गर्छ । भाइरल संक्रमणमा अनावश्यक एन्टिबायोटिक सेवनले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने भएकाले चिकित्सकको सल्लाहबिना औषधि सेवन नगर्न स्वास्थ्यकर्मीहरूको सुझाव छ । तातो पानी, नुनपानीले कुल्ला गर्ने, आराम गर्ने र झोलिलो खानेकुराको सेवन गर्ने जस्ता साधारण उपायले पनि धेरैजसो अवस्थामा समस्या नियन्त्रणमा ल्याउन सकिने तथ्यलाई बेवास्ता गर्नु हुँदैन ।

चिसो मौसममा बालबालिका, जेष्ठ नागरिक र दीर्घरोगी सबैभन्दा बढी जोखिममा पर्छन् । बालबालिकाको प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकास नभएकाले उनीहरू छिट्टै संक्रमणको सिकार हुन्छन् भने जेष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह र मुटुरोग जस्ता समस्या चिसोका कारण थप जटिल बन्न सक्छन् । दीर्घरोगीलाई सामान्य रुघाखोकीले पनि गम्भीर रूप लिन सक्ने भएकाले उनीहरूको हेरचाहमा परिवार र स्वास्थ्य संस्थाले विशेष ध्यान दिन आवश्यक छ ।

स्वास्थ्यकर्मीहरूले चिसो मौसममा न्यानो लुगा लगाउने, शरीर खुला नराख्ने र चिसो हावाबाट जोगिने सल्लाह दिएका छन् । विशेषगरी बिहानको समयमा अनावश्यक हिँडडुल नगर्ने र गर्नैपरेमा न्यानो कपडा, टोपी, गलबन्दी तथा पञ्जा प्रयोग गर्नु आवश्यक छ । बिहानको कुहिरो र चिसो हावाले फोक्सोमा प्रत्यक्ष असर पार्ने भएकाले व्यायामसमेत घाम लागेपछि मात्र गर्नु उपयुक्त हुने चिकित्सकहरूको सुझाव छ ।

खानपान चिसो मौसमको स्वास्थ्य व्यवस्थापनमा महत्वपूर्ण पक्ष हो । तातो तथा झोलिलो पदार्थ, जस्तै सूप, दाल, जाउलो, तातो दूध, अदुवा, बेसार, लसुनजस्ता प्राकृतिक पदार्थले शरीरलाई न्यानो राख्नुका साथै रोगसँग लड्ने क्षमता बढाउँछन् । प्रशस्तरुपमा मनतातो पानी पिउनु पनि उत्तिकै आवश्यक छ, किनकि चिसो मौसममा तिर्खा कम लाग्ने भए पनि शरीरलाई पानीको आवश्यकता उत्तिकै हुन्छ । असन्तुलित खानपान, चिसो र बासी खाना तथा मदिरा र धूम्रपानले रोगको जोखिम झनै बढाउने भएकाले यस्ता बानीबाट टाढै रहनु उचित हुन्छ ।

चिसो मौसम प्राकृतिक चक्रको हिस्सा भए पनि यसले निम्त्याउने स्वास्थ्य जोखिमलाई बेवास्ता गर्नु गम्भीर भूल हुनेछ । न्यानो लुगा, सन्तुलित खानपान, स्वच्छता, सचेत व्यवहार र समयमै उपचार अपनाउन सके रुघाखोकीदेखि जटिल रोगसम्मबाट जोगिन सकिन्छ । स्वास्थ्यकर्मीका सुझावलाई व्यवहारमा उतार्नु र परिवारका जोखिम समूहप्रति विशेष ध्यान दिनु आजको आवश्यकता हो ।

Leave a Reply