एजेन्सी, २८ माघ । प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको छ ।अर्जेन्टाइन स्ट्राइकर सर्जियो एग्युरो चम्किएपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी १६ पुर्याएको छ ।
म्यानचेस्टर सिटीको जितमा एग्युरो एक्लैले ४ गोल गरे । म्यानचेस्टर सिटीले खेलको तेस्रो मिनेटमा स्टर्लिङको गोलमा अग्रता लिएकामा भार्डीले २४ औं मिनेटमा बराबरी गोल फर्काए । । पहिलो हाफ बराबरी भएको खेलमा म्यानचेस्टर सिटीले दोस्रो हाफमा गोलको वर्षा गर्यो ।
एग्युरोले दोस्रो हाफको सुरुमै आफ्नो नाममा गोलको खाता खोले । ४८ औं मिनेटमा पहिलो गोल गरेका एग्युरोले ५३ औं, ७७ औं र ९० औं मिनेटमा गोल गरेर म्यानचेस्टर सिटीलाई ५–१ को जित दिलाएका हुन् । जितसँगै म्यानचेस्टर सिटीको २७ खेलबाट ७२ अंक पुगेको छ ।
गएराति नै भएको अर्को खेलमा टोटेनह्यामले आर्सनललाई १–० ले पराजित गरेको छ ।