काठमाडाैं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि मतदानस्थल र मतदान केन्द्र तोकेको छ । आयोगले सातवटै प्रदेश राजधानी रहेका जिल्लामा मतदानस्थल रहनेगरी ठाउँ तोकिसकेको र तोकिएका मतदानस्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको जनाएको छ ।
मतदान केन्द्र ‘क’ प्रदेशसभाका सदस्यका लागि र मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरका लागि तोकिएको छ ।
यसैबीच निर्वाचन आयोगले निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका समेत सार्वजनिक गरेको छ । सामाजिक अध्ययन शिक्षकका लागि तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगको वेबसाइटमार्फत सार्वजनिक गरिएको हो । निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार भन्ने नारासहित स्रोत पुस्तिका तयार पारिएको हो ।
पुस्तिकामा निर्वाचन आचारसंहिता, यसको पालना, अनुगमन र पर्यवेक्षणका विषय समावेश छन् । यस्तै निर्वाचनका सरोकारवाला, नागरिकको अधिकार–कर्तव्य, शिक्षकको भूमिका तथा निर्वाचन शिक्षा तथा सूचना केन्द्रको भ्रमण सम्बन्धी विषय उल्लेख गरिएको निर्वाचन आयोगले जनाएको छ ।





