वायु प्रदूषण : बालबालिका र जेष्ठनागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८२, आइतबार

वायु प्रदूषण : बालबालिका र जेष्ठनागरिकको स्वास्थ्यमा प्रत्यक्ष प्रभाव

हिउँद लागेसँगै हरेक वर्ष काठमाडौं उपत्यकामा वायु प्रदुषण उच्च मात्रामा बढ्छ, जसको प्रत्यक्ष असर बालबालिका, दीर्घरोगी र जेष्ठनागरिकमा देखिन्छ । वायु प्रदूषणले क्षणिक समस्याका साथै स्वासप्रस्वास तथा निमोनियालगायत मौन महामारीसमेत निम्त्याउने गर्छ ।

 

-माेहनप्रसाद मैनाली
हिउँद लागेसँगै काठमाडौं उपत्यकाको आकाश मधुरो हुँदै गएको छ । बिहानैदेखि देखिने हल्का कुहिरो र धुलोमिश्रित धुँवा मौसम परिवर्तनसँगै बिग्रँदो वायु गुणस्तरको संकेत र भविष्यसँग जोडिएको संकट पनि हो ।

मंसिर १५ देखि फागुन १५ गतेसम्मको अवधिलाई काठमाडौं उपत्यकामा सबैभन्दा चिसो र सुख्खा मौसमका रूपमा लिइन्छ । वर्षा नहुने, वातावरणमा रहेको धुलो–धुवाँ सतहमै स्थिर रहने र हावाको गति कमजोर हुने भएकाले वायु प्रदूषण तीव्र रूपमा बढ्छ । पछिल्ला मापनहरूले काठमाडौंको वायु प्रदूषण सूचकांक एक्यूआई दुई सय नाघ्ने अवस्था पुगेको संकेत गरेको छ जुन धेरै हानिकारकको स्तरमा पर्छ । सामान्यतया वायु प्रदुषणको सुचकांक ५० भन्दा तल हुनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड छ । तर काठमाडौंको स्तर प्रायः एक सयदेखि दुई सय पचासको आसपासमा पुग्ने गरेको छ । यस्तो अवस्था सबैको स्वास्थ्यका लागि हानिकारक भएपनि बालबालिका, दीर्घरोगी तथा जेष्ठनागरिकमा थप घातक हुने स्वास्थ्यविद्हरु बताउँछन् ।

काठमाडौंमा विभिन्न कारणले वायु प्रदूषण बढ्ने गरेका छन् । उपत्यकाको भौगोलिक संरचना नै प्रदूषण बढ्ने एउटा मुख्य कारण हो । चारैतिर पहाडले घेरेको तल्लो सतहमा धुलो–धुवाँ स्थिर भएर बस्छ, चिसो मौसममा तापक्रम घट्दा प्रदूषित हावालाई माथि उठ्न नदिई सतहमै बसिरहन बाध्य बनाउँछ । त्यस्तै, विभिन्न कलकारखाना तथा सवारी साधनबाट उत्पन्न हुने धुवाँ, निर्माण कार्यका कारण उड्ने धुलो, डम्पिङ साइटमा जलाइने फोहोर तथा कहिलेकहीँ देशभरका जंगलमा हुने आगलागीबाट फैलिएको धुवाँका कारण पनि उपत्यकामा प्रद्ूषण बढ्ने गरेको छ ।

वायु प्रदूषणले मानिसलगायत सबै जिवित प्राणिलाई असर गर्छ तर बालबालिका, जेष्ठ नागरिक र पहिलेदेखि नै श्वासप्रश्वास वा मुटु सम्बन्धी समस्या भएकाहरूलाई अत्यधिक जोखिमको अवस्था सिर्जना गर्छ । प्रदूषणका कारण बालबालिकामा निमोनियालगायत फोक्सोमा दीर्घकालीन रोग निम्त्याउने खतरा हुन्छ भने जेष्ठ नागरिकमा मुटुरोग, दम, निमोनिया तथा श्वासप्रश्वाससम्बन्धी जटिल समस्या निम्तिन सक्छ । वायुमा प्रदूषणले जनस्वास्थ्यमा दीर्घकालीन असर समेत पार्दछ । प्रदूषित हावामा निरन्तर सास फेर्दा श्वासप्रश्वास प्रणाली कमजोर हुँदै जान्छ र विभिन्न समस्या आउन सक्छ ।

वायु प्रदूषण नियन्त्रणका लागि नीतिगत रूपमा कडा कदम आवश्यक छ । सडक निर्माणलगायत काममा धुलो नियन्त्रण प्रविधि अपनाउन आवश्यक छ । प्रदूषण फैलाउने सवारी साधनमा कडाइ, सार्वजनिक यातायातको विस्तार र विद्युतीय सवारी साधनको प्रोत्साहन काठमार्डौं उपत्यकामा अनिवार्य विषय बन्दै गएको छ । हरियाली बढाउने, खुला स्थानहरूको संरक्षण गर्ने कामलाई सरकार र स्थानीय तहले प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ ।

Leave a Reply