काठमाडाैं । गभर्नर डा.विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकले कालोसूचिका प्रावधानमा अध्ययन गरेर रिभ्यु थालेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकमा लगानी नबढ्नुको एउटा कारण कालोसूचि समेत भएकाले यसमा रिभ्यु गर्नेगरी प्रक्रिया अघि बढाएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार तरलता अहिले व्यप्त छ । यसलाई घटाउन राष्ट्र बैंकले मौद्रिक नीतिलाई लचिलो समेत बनाएको छ । आगामी दिनमा लगानी बढ्दै जाने उहाँले बताउनुभयो ।
गभर्नर पौडेलले निर्माण क्षेत्रमा ग्रुपमा गरिएको लगानीमा एक जनाले नराम्रो गरे सबै कालोसूचीमा पर्ने समस्यालाई समेत हटाइने बताउनुभयो । धितो राखेर ऋणीहरुले लोनहरु लिने र धितो लिलामी गर्दा कम मूल्यांकन गरेर बेच्ने प्रवृत्तिलाई हटाइने समेत गभर्नर पौडेलले बताउनुभयो ।
उहाँका अनुसार यो निजी क्षेत्रमा भएको करप्सनका रुपमा राष्ट्र बैंकले लिएको छ । सरकारी बैंकबाट ऋण मिलाइदिने भन्दै बार्गेनिङ हुँदा सरकारी निकायहरुले रोक्नसक्ने भएपनि निजी बैंकहरुमा हुने त्यस्ता गतिविधिहरु रोक्न चुनौती रहेको भनाइ छ । गभर्नर पौडेलकाअनुसार त्यस्ता गतिविधिलाई राष्ट्र बैंकले गम्भीर रुपमा लिनेछ ।
गभर्नर पौडेलले मौद्रिक नीतिको पहिलो समीक्षामा आफूहरुले धेरै ठूलो लक्ष्य नराखेको बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुको बैंक शाखाहरुमा आफूहरुले चासो राखेको बताउनुभयो ।
उहाँका अनुसार बैंकहरुको नाफा बढोस् भन्ने उद्देश्यले महानगरभित्रका शाखाहरु समायोजन गर्नसक्ने वातावरण मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरिएको बताउनुभयो । यो प्रक्रिया अघि बढाइनेछ । बैंकहरुले सही ठाउँमा कर्जा प्रवाह गरेर प्रतिफल कमाउन भन्नेमै आफूहरुको धारणा रहेको उहाँले बताउनुभयो ।





