काठमाडाैं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नेपालको अर्थतन्त्र अहिले आर्थिक संक्रमणको मोडमा रहेको बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले निजी क्षेत्रमा लगानीयोग्य पुँजीको अभाव रहेको, बैंकिङ क्षेत्रमा अधिक तरलता तथा घट्दो ब्याजदरको व्यवस्थापनको चुनौति रहेको बताउनुभयो । साथै लगानी वातावरणमा अनिश्चितता र राजश्व संकलनको दबाब रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको साथमा सरकार रहेको बताइएपनि अन्तरिम सरकारको आयु कति हो ? भन्दै प्रश्न गर्नुभयो ।
अन्तरिम सरकारले ल्याएका नीतिहरु विधि विपरित रहेको भन्दै स्थायी सरकारले उल्ट्याइदिने र निजी क्षेत्रको लगानी डुब्ने समस्या कायम रहेको बताउनुभयो । वित्तीय पत्रकारितामा गलत तथ्य, अपुष्ट सूचना र अनावश्यक उत्तेजनाले बजारमा अस्थिरता ल्याउने पनि बताउनुभयो । सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारले पारदर्शिता सूचित गर्नुपर्ने बताउनुभयो ।
उहाँले निजी क्षेत्र लामो समयसम्म टिक्नसक्ने स्थिति नरहेको बताउनुभयो । निर्यात अभिवृद्धिदर, उत्पादकत्व वृद्धि जस्ता संरचनागत आर्थिक आवश्यकताहरु देखिएको बताउनुभयो ।





