काठमाडाैं । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशिल ज्ञवालीले लगानीका लागि स्थायित्व नभएको बताउनुभएको छ । नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले राजनीतिक वातावरणमा फेरबदल आउने बित्तिकै आयोजनाहरुको मोडालिटीहरुमा समेत धारणा बदल्ने परिपाटी देखिएको भन्दै उहाँले मुलुकमा स्थायित्व नभएसम्म लगानीको वातावरण बन्न नसक्ने बताउनुभएको हो ।
सिइओ ज्ञवालीका अनुसार लगानीको दृष्टिकोणमा फेरबदल आउनु हुँदैन । स्थायित्वका लागि लगानी बोर्डमा प्रधानमन्त्रीको अध्यक्षतामा विपक्षी दलको नेतासहित संसदमा प्रतिनिधित्व गर्ने दलहरु, निजी क्षेत्रका प्रतिनिधिहरु, विज्ञहरुसमेत सम्लित एउटा मेकानिजम बनाउने तयारी भइरहेको बताउनुभयो ।
ज्ञवालीकाअनुसार यसबारे छिट्टै एउटा निष्कर्षमा पुगिनेछ । यसले गर्दा राजनीतिक कोर्स परिवर्तन हुँदा पनि आयोजनाहरुमा हेरिने दृष्टीकोण परिवर्तन हुनेछैन । यसले पारदर्शीताको कुरालाई पनि बढावा दिनेछ भने जुनसुकै कामहरु अघि बढाउँदा पनि साझा दृष्टिकरण बनाएर अघि बढ्न सघाउ पुग्नेछ । यसले लगानीकर्ताबीचमा मनोबल उकास्न समेत सहयोग गर्नेछ । केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहेको बताउनुभयो ।
अहिले गेम चेन्जिङ प्रोजेक्टहरू पाइपलाइनका रहेकाले ती प्रोजेक्टहरू फाइनल हुन लागेको समेत उहाँले जानकारी दिनुभयो । लगानीकर्ताहरूमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुपर्ने आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समयमा निजी क्षेत्र, लगानीकर्ता र सरकारबीच लगानीको वातावरण बढाउनका लागि बोर्डले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यसका लागि अर्थमन्त्रीसहित निजी क्षेत्र र जेनजी आन्दोलनमा प्रत्यक्ष प्रभाव परेकोहरुबारे बसेर छलफल गर्दा हामी उठ्नै पर्छ र यसको विकल्प छैन भन्ने निष्कर्ष निकालिएको उहाँको भनाइ छ ।
लगानीकर्ताहरूले जुनजुन शर्त राखेर नेपाल आउने तयारी गरेका छन् उनीहरूको लागि सम्झौतामै भोलीका दिनमा परिवर्तन नहुने ढुक्क हुने विश्वास दिलाउने तयारी रहेको छ । उनीहरूले जुन टर्म अफ कन्डिसनमा लगानी गरेका छन् त्यो पछि परिवर्तन नहुने गरी सम्झौता गर्ने तयारी रहेको उहाँको भनाइ छ ।
निजी क्षेत्रले नेपालका लगानीको वातावरण बनाउनका लागि कानूनी विषय र अप्ठ्यारो पाटाहरूलाई सहज बनाउनुपर्ने माग राखेका बताउँदै उहाँले सरकारले कुन प्रोजेक्ट गर्ने र निजी क्षेत्रले कुनकुन गर्ने भन्नेबारे स्पष्ट पार्नका लागि समिति बनाएर काम गर्नेगरी बोर्ड अगाडी बढेको समेत उहाँले जानकारी दिनुभयो ।





