काठमाडाैं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)का नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल भ्रष्टाचार निययन्त्रण, सुशासन र निर्वाचन केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो ।
उहाँका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल दर्ता गरेकोमा नेकपा एमालेलाई धन्यावाद दिँदै निर्वाचनमा सहभागि हुन आग्रह समेत गर्नुभयो । जवाफमा नेकपा (एमाले)का नेताहरुले निर्वाचबाट नभाग्ने भन्दै सरकारले निर्वाचनको लागि उचित वातावरण बनाउनुपर्ने धारणा राखेको मन्त्री खरेलले बताउनुभयो ।
उहाँले छलफलमा प्रधानमन्त्री कार्कीले स्वच्छ निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकार प्रतिबद्ध कुरा राखेको पनि उल्लेख गर्नुभयो ।
नेकपा (एमाले)का नेता महेश बर्तौलाले एमालेले चुनावको निष्पक्षता र निर्भयताको वातावरण चाहेको विषय प्रधानमन्त्रीसमक्ष राखेको बताउनुभयो । उहाँले सरकारले अहिले गरिरहेका क्रियाकलापले भयरहित ढंगले निर्वाचनमा जान सक्ने अवस्था नरहेको भन्दै निर्वाचनको वातावरण निर्माण गर्न आग्रह गरेको बताउनुभयो ।
छलफलमा प्रधानमन्त्री कार्कीसँगै सरकारको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल सहभागि हुनुहुन्थ्यो । नेकपा (एमाले) बाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागि हुनुहुन्थ्यो ।





