पछिल्लो समय नेपालमा पर्यटकीय गतिविधि बढ्दै गएको छ । आन्तरिक र बाह्य पर्यटकहरु विभिन्न गन्तव्यमा पुग्ने र मनोरञ्जन लिने क्रम बढेको छ । दिगो पर्यटकीय विकासका लागि सुरक्षित यात्रा, स्थानीय साझेदारी र डिजिटल प्रवद्र्धनलाई प्राथमिकतामा राखेर पर्यटन व्यवसायीहरुले गतिविधि अगाडि बढाइ रहेका छन् ।
-माेहनप्रसाद मैनाली
केही साताअघि जेन–जी आन्दोलनका कारण देशभरको बजार, यातायात र आवागमन प्रभावित हुँदा पर्यटन क्षेत्र पनि असहज बनेको थियो । काठमाडौंदेखि पोखरा, चितवनदेखि लुम्बिनीसम्मका पर्यटकीय गन्तव्यहरूमा आगन्तुकहरूको संख्या केही घटेको थियो । होटल व्यवसाय, ट्राभल एजेन्सी, गाइड तथा स्थानीय सेवा प्रदायकमा अलि धेरै नै चाप परेको थियो ।
आन्दोलनपछि राजनीतिले गति लिएसँगै आन्तरिक तथा बाह्य पर्यटन दुबै पुनः सक्रिय हुँदै पर्यटन क्षेत्र पुनः लयमा फर्केको छ ।
नेपालका साहसिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यहरूलाई फर्केर हेर्ने पर्यटकहरूको भीड पुनः बढ्न थालेको छ । हिमाल आरोहण, पदयात्रा, साइक्लिङ, पर्व–अनुभव, योग–ध्यान तथा सांस्कृतिक अध्ययनका लागि नेपाल आउने विदेशी आगन्तुकहरूको संख्या निरन्तर उकालो लागेको देखिन्छ । आन्तरिक पर्यटनको उत्साह झनै बढेको छ । सामाजिक सञ्जालमा देखिएका आकर्षक दृश्य, नयाँ पदमार्गहरूको खोजी र ‘घुमफिर’ संस्कृतिको विस्तारसँगै युवा पुस्ता लाङटाङदेखि खप्तड, रारादेखि मुगु, इलामदेखि सोलुखुम्बुसम्म यात्रा गरिरहेका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार हालका वर्षहरूमा नेपालमा विदेशी आगन्तुकको आगमनमा उल्लेख्य वृद्धि भइरहेको छ । पर्यटकीय वृद्धि उत्साहजनक छ, जसले पर्यटनको भविष्य थप उज्यालो देखाएको छ ।
सरकारले २०२३ देखि २०३२ सम्मलाई ‘नेपाल भ्रमण दशक’ घोषणा गरिसकेको छ । वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन्, जसले बाह्य र आन्तरिक पर्यटकका लागि सहज बनाएको छ । आन्तरिक विमानस्थल सुधार, सडक पहुँच विस्तार, ई–भिसा र अनलाइन सेवाजस्ता प्रविधिमैत्री सुविधाहरुले पर्यटकहरुलाई सहज भएको छ । अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई प्रस्तुत गर्ने, डिजिटल प्रवद्र्धनमार्फत देशको ब्रान्डिङ गर्ने, वेबसाइट तथा सामाजिक सञ्जालमार्फत ‘भिजिट नेपाल’ परिचय बलियो बनाउन आवश्यक छ ।
निजी क्षेत्र पनि उत्तिकै सक्रिय छ । हान, टान, नाट्टा लगायतका संस्थाहरूले विश्वका पर्यटन बजारसँग नेटवर्क विस्तार गरिरहेका छन् । छुट प्याकेज, अनलाइन बुकिङ, डिजिटल गाइड तथा भर्चुअल टुर जस्ता सेवाहरू विकास हुँदैछन् । ग्रामीण पर्यटन, होमस्टे विकास र स्थानीय समुदायमा आधारित परियोजनाहरूले नयाँ–नयाँ गन्तव्य पहिचान भइरहेका छन् ।
काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदा सूचीमा परेका विभिन्न दरबार क्षेत्र, मन्दिर तथा सांस्कृतिक स्थलहरूमा पर्यटकको चहलपहल उत्साहजनक रुपमा बढेको छ । पोखरा, लुम्बिनी, सोलुखुम्बु, चितवन, रारा, खप्तड, इलाम जस्ता प्रमुख गन्तव्यहरूमा पर्यटकहरु पुगिरहेका छन् ।
पर्यटनलाई दिगो, सुरक्षित र समावेशी ढङ्गले अघि बढाउनु अबको आवश्यक हो । स्थानीय संस्कृतिको संरक्षण, सेवा प्रदायकहरूको व्यवसायिक क्षमता विकास, पर्यटक सुरक्षामा ध्यान र डिजिटल मार्केटिङको प्रभावकारी उपयोग अनिवार्य गर्नुपर्छ । नेपालसँग प्रकृति, संस्कृति, जैविक विविधता तथा अतिथि देवो भवः को मर्मलाई आत्मसाथ गर्दै पाहुनालाई देवता समान सम्मान गर्ने नेपाली मन छ । सरकार, निजी क्षेत्र, स्थानीय समुदाय र अन्तर्राष्ट्रिय साझेदारबीचको सशक्त साझेदारीबाट नेपाललाई दीर्घकालीन रूपमा विश्वको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्न सकिने भएकाले पर्यटन प्रवद्र्धनमा ध्यान दिनु आवश्यक छ ।





