वैदेशिक रोजगारीमा युवाहरूको निर्भरता र दीर्घकालीन प्रभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८२, शनिबार

वैदेशिक रोजगारीमा युवाहरूको निर्भरता र दीर्घकालीन प्रभाव

baideshik rojgar

नेपालका अधिकांश युवाहरू रोजगारी र आम्दानीको खोजीमा वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेको छ । युवाहरूको विदेश निर्भरता बढ्दै जाँदा कृषि, उद्योग र उत्पादनशील क्षेत्रमा जनशक्तिको अभाव देखिएको छ, जसले अर्थतन्त्रलाई आयातमुखी र उपभोग–केन्द्रित बनाइरहेको छ ।

 

-माेहनप्रसाद मैनाली
नेपालका अधिकांश दुरदराजदेखि सुगम सहरबजारसम्म विमानस्थलतर्फ हिँड्ने युवाको बिदाइ दृश्य सामान्य भइसकेका छन् । हातमा पासपोर्ट, काँधमा झोला र आँखाभरी बोकेका सपना विदेशी माटोमा पूरा गर्ने अठोटका साथ युवाशक्ति विदेश हिडेको लर्को देखिन्छ । वैदेशिक रोजगारी रोजगारीको विकल्प नभइ नेपाली युवाको जीवनशैली बन्न थालेको यसबाट प्रष्ट हुन्छ ।

नेपालको श्रम बजारले सबै युवालाई आत्मसम्मानसहितको रोजगारी दिन नसक्दा लाखौँ युवाहरू मलेसिया, कतार, साउदी अरब, युएई वा कोरियातिर आकर्षित भइरहेका छन् । रेमिट्यान्स आज देशको अर्थतन्त्रको मेरुदण्ड बनेको छ । कुल घरेलु उत्पादन जीडीपीको ठूलो अंश यहीँबाट आउँछ । यसले तत्कालिक आर्थिक राहत दिएको भए पनि यसको सामाजिक, सांस्कृतिक र दीर्घकालीन आर्थिक मूल्याङ्कनमा गहिरो प्रभाव हुन्छ ।

सबैभन्दा ठूलो प्रभाव परिवार र समुदायको संरचनामा देखिन्छ । हजारौँ युवाहरू परदेशमा हुँदा गाउँमा वृद्ध, महिला र बालबालिकामात्रै बसोबास गर्ने बस्ती बनेका छन् । आमा–बुबा सन्तानको साथ पाउँदैनन्, श्रीमान श्रीमतीको सम्बन्ध कमजोर हुँदै जान्छ र बालबालिकाहरू बाबु–आमाको स्नेहभन्दा मोबाइल र पैसामा बढी निर्भर बन्दैछन् । आर्थिक आम्दानीले सुख ल्याए पनि भावनात्मक अभावले समाजलाई खोक्रो बनाउँदैछ, सामाजिक संस्कारमा समेत अलग धार निर्माण हुँदै गइरहेको छ ।

अर्थतन्त्रका दृष्टिले पनि यो निर्भरता स्थायी समाधान होइन । रेमिट्यान्सले उपभोग त बढाएको छ, तर कृषि, उद्योग, प्रविधिलगायत उत्पादनशील क्षेत्रहरूमा लगानी हुन सकेको छैन । आयातमुखी अर्थतन्त्र र उपभोगमुखी संस्कृति बढ्दै गइरहेको छ । युवाहरू विदेश गएकाले श्रम अभावका कारण गाउँमा खेतीपाती घट्दैछ र घरेलु उत्पादन घट्दा देश आयातमा निर्भर हुँदैछ।

सीप पलायन अर्को समस्या हो । दक्ष युवाहरू विदेशमा आफ्नो श्रम र क्षमता सस्तो दरमा बेचिरहेका छन् । देशले उनीहरूका सीप, अनुभव र ऊर्जालाई प्रयोग गर्न सकेको छैन । यो अवस्था लामो समय रहिरह्यो भने नेपाल श्रम–आयात गर्ने देश बन्न पुग्ने अवस्था पनि सिर्जना हुने सम्भावना हुन्छ ।

दीर्घकालीन समाधानका लागि अब राज्यले रेमिट्यान्सलाई उपभोगमा होइन, उत्पादनमा रूपान्तरण गर्ने नीतिगत व्यवस्था गर्नुपर्छ । विदेशबाट फर्किएका श्रमिकका सीप र पूँजीलाई कृषि, पर्यटन, लघु–उद्योग, प्रविधि र नवप्रवर्तन क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ । युवा–उद्यमी कार्यक्रमहरू केवल कागजमा होइन, व्यवहारमा प्रभावकारी रूपमा लागू हुन आवश्यक छ ।

वैदेशिक रोजगारीको मूल कारण बेरोजगारी मात्रै होइ, राज्यले युवाको भविष्यप्रति सम्भावना जगाउन नसक्नु पनि हो । जबसम्म राज्यले युवामा विश्वास जगाउँदैन, उनीहरू सपनाको खोजीमा विदेश जान बाध्य हुनेछन् । राज्यले युवाहरूलाई आफ्नै माटोमा भविष्य देखाउन सक्ने वातावरण बनाउन आवश्यक छ ।

 

Leave a Reply