निर्वाचन आयोगद्वारा १२ घण्टा सेवा प्रवाह | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

निर्वाचन आयोगद्वारा १२ घण्टा सेवा प्रवाह

काठमाडाैं । मतदाता नामावलीमा नाम दर्ता गर्न गर्नेहरुको भीड बढेपछि दर्ता स्थलमा दुई सिफ्टमा काम थालिएको छ । निर्वाचन आयोगका अनुसार नाम दर्ता गर्नेहरु बढेपछि आवश्यक व्यवस्थापन गर्न र सहज सेवा प्रवाह गर्नका लागि दैनिक आठ सय भन्दा धेरै नाम दर्ता भइरहेका जिल्लामा ६–६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो ।

काठमाडाैं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको आयोगले जनाएको छ । अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको छ । फागुन २१ को चुनावका लागि मतदाता नामावली दर्ताको समयसीमा सकिनै लाग्दा दर्ता गर्नेको संख्या बढेको हो । गएको असोज ९ देखि शुरू भएको मतदाता नामावली दर्ताको समयसीमा सकिन अब चार दिन मात्रै बाँकी छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको चुनावमा मतदान गर्नका लागि फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकलाई मात्र मतदाता नामावलीमा नाम दर्ता गरिदिन अपिल समेत गरेको छ ।

मतदाता नामावली संकलनमा चाप बढेको र अनलाइनमा दर्ता गर्न असहज भएको गुनासोपछि प्रधानमन्त्री सुशीला कार्कीले सहजीकरणका लागि निर्वाचन आयोगसँग आग्रह समेत गर्नुभएको छ । उहाँले यो कात्तिक मसान्तसम्मको समय पुनरावलोकन गर्न पनि निर्वाचन आयोगलाई अनुरोध गर्नुभएको छ । समय थपबारे निर्वाचन आयोगले अहिलेसम्म निर्णय गरिसकेको छैन ।

Leave a Reply