काठमाडाैं ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संविधानले पूर्वन्यायधीशलाई मन्त्री, सांसद बन्न नरोकेको दाबी गर्नुभएको छ ।नेपाल कानून समाजले आयोजना गरेको आगामी प्रतिनिधिसभाको निर्वाचनः चुनौती र अवसर विषयक राजनीतिक दलहरुसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफू संविधान पढेर नै मन्त्री बन्न गएको बताउनु भयो । कार्यक्रममा सहभागी एमाले नेता अग्नी खरेलले पुर्वन्यायधीश र प्रधानन्याशीश प्रधानमन्त्री र मन्त्री बन्नु असंवैधानिक बताएपनि मन्त्री सिन्हाले यस्तो जवाफ दिनुभएको हो । उहाँले मन्त्री बन्ने दिन पनि एक घण्टा आफूले संविधान पढेको बताउनु भयो ।
उहाँले मतदान गर्ने अधिकार दिएपछि संविधानले आफूहरुलाई उम्मेद्वार बन्न पाउने अधिकार पनि दिएको बताउनु भयो । उहाँले आफूहरु अफ्ठ्यारो अवस्थामा मात्रै सरकार चलाउन आएको बताउनु भयो । उहाँले आफुलाई आगामी दिनमा चुनाव लड्ने, मन्त्री बन्ने ईच्छा पनि नरहेको बताउनु भयो । मन्त्री सिन्हाले सरकारले निर्वाचनको वातावरण निर्माण गरिरहेको पनि दाबी गर्नुभयो । सरकारले हरेक राजनितिक दलका जिम्मेवार नेताहरुसँग निर्वाचनको सन्दर्भमा छलफल गरिरहेको पनि जानकारी दिनुभयो । राजनितिक दलहरु निर्वाचनबाट पछाडी नफर्कने पनि उहाँले विश्वास व्यक्त गर्नुभयो ।




