प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच छलफल : प्रदेश सरकार र संघीय सरकारबीच समन्वय हुनुपर्नेमा जाेड | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच छलफल : प्रदेश सरकार र संघीय सरकारबीच समन्वय हुनुपर्नेमा जाेड

काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभा निर्वाचनको तयारी र समन्वयका विषयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको छ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा प्रधानमन्त्री कार्कीले सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफल अत्यन्तै प्रभावकारी र सकारात्मक रहेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो । उहाँका अनुसार आगामी निर्वाचन, सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका विषयमा संघीय तथा प्रदेश सरकारबीच कसरी प्रभावकारी समन्वय गर्न सकिन्छ ? भन्ने विषयमा गम्भीर छलफल भएको हाे ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनारले अन्तरिम सरकारले संघीयताको मर्म र भावनाअनुसार समन्वय नगरेकोप्रति आपत्ति जनाउनुभयो । २१ फागुनमा निर्वाचन गर्न आवश्यक वातावरण निर्माण भइनसकेको बारेमा प्रधानमन्त्री कार्कीसँग सरोकार राखेको पनि बताउनुभयो । उहाँले निर्वाचनको वातावरण बनाउन सरकारले सुरक्षाको अनुभुति र सुरक्षा निकायको मनोबल बढाउनुको विकल्प नरहेको भन्ने सुझाव दिएको पनि बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले निर्वाचनसँगै प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर अगाडि जाने विषयमा छलफल भएको बताउनुभयो । उहाँले प्रधानमन्त्री कार्की संघीयता र निर्वाचनको बारेमा अत्यन्त सकारात्मक देखिएको पनि बताउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले मुलुकमा शान्ती सुव्यवस्था कायम भइनसकेको अवस्थामा निर्वाचन हुन नसक्ने उल्लेख गर्दै वातावरण बनाउन आग्रह गर्नुभयाे ।

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा सबै प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गर्नुभएको हो । यसअघि सरकारले सबै राजनीतिक दल र जेन–जी प्रतिनिधिहरुसँग समेत छलफल गरिसकेको छ ।

Leave a Reply