राष्ट्रपति पौडेल आज कतार जाँदै | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८२, मंगलबार

राष्ट्रपति पौडेल आज कतार जाँदै

फाइल तस्बिर

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल आज कतार जाँदै हुनुहुन्छ । राजधानी दोहामा कात्तिक १८ देखि २० गतेसम्म हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन राष्ट्रपति पौडेल त्यसतर्फ जानुहुने भएको हो।

कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

संयुक्त राष्ट्रसङ्घ, महासभाको निर्णय अनुसार हुन लागेको सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको यो सम्मेलन ३० वर्षपछि हुन लागेको हो ।

सम्मेलनका क्रममा राष्ट्रपति पौडेलसँग कतारका अमिर र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको भेटवार्ता हुनेछ । सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेका विकास असमानता, जनसङ्ख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा विभिन्न कोणबाट गहन छलफल हुने बताइएको छ ।

सम्मेलनले सामाजिक विकासका लागि सहकार्य र सहयोगका विषयमा साझा प्रतिबद्धता जाहेर गर्ने जनाइएको छ । सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य भएपछि नेपाल शान्ति र स्थायित्वका लागि सधैँ सक्रिय र प्रतिबद्ध रही आएको छ ।

हाल नेपाल राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेकाले पनि सम्मेलनमा सहभागिता अर्थपूर्ण छ । कतारको औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने मन्त्रालयले जनाएको छ ।

Leave a Reply