नेपालको वर्तमान राजनीतिक अस्थिरता नेताहरूको असफलता मात्र नभइ जनचेतनाको कमजोरी र पुस्तागत अन्तरद्वन्द्वको परिणाम भएको नेताहरुले बताएका छन् । राजनीतिक स्थायित्व, जवाफदेही शासन र दीगो विकासको नयाँ युगमा प्रवेश गर्न पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको उत्साहलाई सन्तुलनमा ल्याउन आवश्यक छ ।
जेन जी आन्दोलन र सरकार परिवर्तनपछि नेपाल फेरि एक पटक नयाँ राजनीतिक संक्रमणको दोबाटोमा उभिएको छ । देशमा भइरहेको अस्थिरता, दलहरूको आन्तरिक कलह र जेन जी पुस्ताले नेतृत्व गरेको आन्दोलनले नयाँ राजनीतिक दिशा खोज्न बाध्य बनाएको छ । तर यो अवस्थाको सम्पूर्ण दोष राजनीतिक नेताहरूलाई मात्रै थोपर्नु न्यायोचित नहुने नेताहरु बताउन थालेका छन् । देशको वर्तमान अवस्था आउनुमा नेताको अहंकार र स्वार्थ जत्तिकै दोष मतदाताको विवेकहीन निर्णय र जनतामा फैलिएको उदासीनता पनि कारण भएको विश्लेषकहरु बताउँछन् ।
पछिल्ला वर्षहरूमा जनताले हरेक चुनावमा परिवर्तनको नारा बोकेका नेताहरूलाई जिताए, तर त्यो परिवर्तनको नारालाई व्यवहारमा मूर्तरूप दिन सकेनन् । नेताले सत्ता र स्वार्थलाई प्राथमिकता दिनु र जनताले पनि नतिजा सोच्नुअघि भावनामा बगेर जिताएर पठाउनु दुबै गलत हुन् । भ्रष्टाचारमा लिप्त भएर पनि नेताहरुले पटक–पटक चुनाव जित्नुको अर्थ जनताले पनि भ्रष्टाचारलाई मौन सहमति दिएको भन्ने अर्थ लाग्ने विश्लेषकहरुको भनाइ छ । तर काम गर्न सक्छु भनेर ठाउँमा पुग्नेले जनतालाई कमजोरी देखाएर पन्छिन मिल्ने कुरा होइन ।
जेन जी पुस्ता, जसले डिजिटल युगमा हुर्किएर पारदर्शिता, समानता र उत्तरदायित्वका मूल्य सिकेका छन्, उनीहरू अहिलेको राजनीतिक अवस्थाप्रति असन्तुष्ट छन् । तर यो आन्दोलनको स्वरूप अस्पष्टनै भएको नेताहरु बताउँछन् । केहीले यसलाई संरचनागत सुधारको आन्दोलन भन्छन् भने केहीले ‘अराजकता र भीडतन्त्र’ को संज्ञा दिएका छन् । नेताहरुको यस्तो भनाइले जेन जी पुस्ता राष्ट्रिय राजनीतिमा प्रष्ट नीति, दूरदृष्टि र संगठनात्मक रूपले तयार छ कि छैन भन्ने प्रश्न भने खडा भएको छ ।
जेन जी पुस्ताका मागहरूमा पनि एकरुपता देखिएको छैन । पूर्ण समानुपातिक प्रणाली, प्रत्यक्ष कार्यकारीको व्यवस्थालगायतका दूरगामी असर पार्ने राजनीतिक प्रणालीमा उनीहरुको फरक मत देखिएको छ । विचारगत विविधता नै लोकतन्त्रको सुन्दर पक्ष हो तर यसलाई संस्थागतरुपमा रूपान्तरण गर्न आवश्यक छ, यसका लागि राजनीतिक सोच र दृष्टिकोण परिपक्वा हुनुपर्छ ।
राजनीतिक दलहरूले अहिले पनि आफ्नो पुरानो सोच त्याग्न सकेका छैनन् । उनीहरू सत्ता समीकरण र गुटबन्दीमै सीमित भइरहेका देखिन्छन् । जनआकांक्षासँग समायोजन गर्न तयार देखिदैनन् । कतिपय नेताहरुले राजनीति सही मार्गमा अघि नबढेकाले सुधार्न पटक पटक सचेत नगराएका पनि होइनन्, तर देशलाई यथास्थितिमा राखेर अघि बढ्न खोज्दा जेन जी आन्दोलनले राजनीतिलाई वर्तमान अवस्थामा पुर्याइ दिएको छ ।
पुरानो पुस्ताका नेताले आत्ममूल्यांकन गरी नयाँ पुस्ताको आवाजलाई सुन्नुपर्छ । जेन जी पुस्ताले पनि आफ्नो आन्दोलनलाई केवल भावनात्मक प्रतिक्रिया होइन, विचारको अभियान बनाउनुपर्छ । सडकको जोशलाई नीति निर्माणको स्तरसम्म पु¥याउन उनीहरूले दीर्घकालीन रणनीति र संगठनात्मक आधार तयार गर्नुपर्छ । जेन जी पुस्ताको उर्जा र पुरानो पुस्ताको अनुभवबीच सन्तुलन कायम गर्न सके मात्रै देश राजनीतिक स्थायित्वतर्फ अघि बढ्न सक्छ ।





