फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचन सफल गराउन सरकार, जेन जी प्रतिनिधिहरु र राजनीतिक दलहरुबीच सम्बाद शुरु भएको छ । जेन–जी आन्दोलनले नेपाली राजनीतिमा परिवर्तनकारी हलचल पैदा गरी पुरानो राजनीतिक संस्कृतिलाई चुनौती दिएको छ । नयाँ पुस्तालाई निर्णय प्रक्रियामा सहभागी हुन प्रेरित गरेको छ ।
-माेहनप्रसाद मैनाली
गत भदौ २३ र २४ गते उत्पन्न तनावपूर्ण राजनीतिक अवस्थापछि जेन–जी आन्दोलन र राजनीतिक दलहरुबीच देखिएको संवादहीनता अन्त्य हुनु नेपाली राजनीतिक यात्राको एउटा सकारात्मक चरण हो । लामो समयदेखि आक्रोश, अविश्वास र असन्तोषको घेराभित्र रहेर चलिरहेको जेन–जी आन्दोलनले अन्ततः संवादको बाटो रोज्नुले देशलाई राजनीतिक स्थायित्व र समाधानको दिशातर्फ लैजाने सम्भावना बलियो बनाएको छ । डेढ महिनादेखि निरन्तर सडकमा देखिएको युवा पुस्ताको आन्दोलनले सुशासन, जवाफदेहिता र पारदर्शिताको माग गर्दै आएको छ । आन्दोलनले वर्तमान राजनीतिक वर्गलाई आफ्नो जिम्मेवारीबारे पुनर्विचार गर्न बाध्य बनाएको छ ।
जेनजी, सरकार र राजनीतिक दलका नेताहरुबीच हालै भएको छलफलमा जेन–जीका प्रतिनिधिहरूले समयमै निर्वाचन हुनुपर्ने, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले तत्काल काम गर्नुपर्ने तथा आन्दोलनका क्रममा भएको जनधन क्षतिको निष्पक्ष छानबिन र कारबाही गर्नुपर्ने माग गरेका छन् । यी मागहरू कुनै दलको विरोध वा संविधान विरोधी होइनन्, बरु लोकतन्त्रलाई सुदृढ पार्ने मागहरू हुन् । यो चेतना राजनीतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ, किनकि जेन–जी आन्दोलनले व्यवस्था परिवर्तन होइन, व्यवहार परिवर्तनको माग गरिरहेको छ । त्यसैले यस आन्दोलनलाई संवाद, सहकार्य र उत्तरदायित्वको राजनीतिक संस्कृतिमा रूपान्तरण गर्नु सबैको कर्तव्य हो ।
राजनीतिक दलहरूको प्रतिक्रिया मिश्रित देखिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादीलगायतका दलहरु निर्वाचनको पक्षमा देखिएका छन्, उनीहरुको माग निर्वाचनको वातावरण बनोस् भन्ने छ । लोकतन्त्रको पुनर्जागरण निर्वाचनबाटै हुन्छ र जनमतको पुनःअनुमोदनबिना सरकारले स्थायित्व पाउँदैन । तर नेकपा एमालेले संसद पुनःस्थापनालाई केन्द्रमा राखेको छ । विषम परिस्थितिमा बाहेक जनमतको अधिकार पुनःस्थापनामार्फत् नभइ मतदानमार्फत सुनिश्चित हुने विश्वव्यापी लोकतान्त्रिक मान्यता हो । यही मान्यता अनुसार लोकतान्त्रिक पद्दतीको सम्मान गर्नु लोकतान्त्रिक दलहरुको जिम्मेबारी पनि हो ।
जेन–जी आन्दोलन सामाजिक र मानसिक रूपान्तरणको प्रक्रिया हो । यो आन्दोलनले जनताको शासनप्रति विश्वास पुनःस्थापित गर्न, पारदर्शिता र जवाफदेहिताको संस्कृतिलाई संस्थागत गर्न प्रेरणा दिएको छ । अब सरकार र राजनीतिक दलहरूले जेन–जीको आवाजलाई दबाबका रूपमा होइन, सुधारका अवसरका रूपमा लिनुपर्छ । उनीहरूको मागलाई कार्यान्वयन गर्न ठोस कदम चाल्नुपर्छ । भ्रष्टाचार नियन्त्रणका लागि स्वतन्त्र निकाय सशक्त पार्ने, पारदर्शी प्रशासनिक संयन्त्र निर्माण गर्ने र युवाहरूलाई नीति निर्माण र निर्णय–प्रक्रियामा सहभागी गराउने नीतिगत सुधार आवश्यक देखिन्छ ।
सबैभन्दा ठूलो प्रश्न अहिले निर्वाचनकै हो । वर्तमानमा देखिएको अस्थिरता, जनअसन्तोष र वैधतामाथिको प्रश्नको समाधान निर्वाचनको बाटोबाट मात्रै सम्भव छ । निर्वाचन लोकतन्त्रको आत्मा हो, र यही प्रक्रियाबाट मात्र जनताको विश्वास पुनःस्थापित हुन सक्छ । आन्दोलन, विरोध र नाराहरूले अस्थायी दबाब त सिर्जना गर्छन्, तर दीर्घकालीन समाधान केवल जनमतबाटै सम्भव हुन्छ । निर्वाचनको वातावरण निर्माण गर्न सरकार, जेन–जी पुस्ता र राजनीतिक दलहरुले सामूहिक दायित्वका रूपमा जिम्मेवारी लिन आवश्यक छ ।





