काठमाडाैं । काठमाडौंमा परम्परागत पौभा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ । यो प्रदर्शनीमा ७० हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म पर्ने चित्रकला राखिएको छ । बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरी भइरहेको पौभा चित्रकला प्रदर्शनीमा नयाँ तथा पुराना पुस्ताका उक्त मूल्य बराबरको चित्रकला प्रदर्शनीमा राखिएको हो ।
पौभा चित्रकार रजनी सिंखवाले पौभा ‘मास्टर्स अफ डिभोसनः पौभा आर्ट फ्रम भक्तपुर’ शीर्षकमा प्रदर्शनी गरिएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदर्शनीमा भक्तपुरका २२ कलाकारका चित्रकला प्रस्तुत गरिएका छन् । पौभा चित्रकला परम्परागत मौलिक नेपारी चित्रकला भएको उहाँले बताउनुभयो । पौभा चित्रकला हजारौँ वर्ष पहिलादेखि चलिआएको शैलिगत आर्ट भएको उहाँको भनाई छ । पौभा चित्रकलामा हिन्दु र बौद्ध धर्म भगवानहरुको चित्र बनाइने उहाँले जानकारी दिनुभयो ।
उहाँले पौभा चित्रकलाको लागि धेरै मेहनत र समय खर्च हुने भएकोले यसको मूल्य पनि बढी हुने बताउनुभयो । बजारमा पाईने अन्य आर्टको तुलनामा पौभा आर्ट मंहगो हुने उहाँको भनाई छ । सामान्य पौभा चित्रकला बनाउन पनि कम्तिका एक महिना लाग्ने उहाँले बताउनुभयो ।
उहाँले प्रर्दशनीमा रहेका ३८ वटामध्ये ४ वटा चित्रकला विक्री भएको जानकारी दिनुभयो । उहाँकाअनुसार प्रर्दशनीमा स्वर्गीय ग्याकंर बज्रचार्यको एकदमै पुरानो आर्ट रहेको छ । साथै ७० वर्षमाथिका सूर्यबहादुर चित्रकार, अजय कर्माचार्य, बलराम निष्ठू, चन्द्रकृष्ण किजू, हरिप्रसाद वैद्य, किरण जोशीलगायत कलाकारले बनाएका चित्रकला प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनी आगामी मङ्सिर ६ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा निशुल्क सहभागी भएर अवलोकन गर्न सकिनेछ ।





