काठमाडौ ।
प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।जेनजी आन्दोलनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको गोलन्जोर गाउँपालिका(१ घर भएका २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका(४ घर भएका २७ वर्षीय सौरभ तामाङ छन् ।
उनीहरु दुबैलाई सिसिटिभी फुटेजको आधारमा महाराजगञ्ज प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।उनीहरुले प्रहरी कार्यालयमा आगजनी, तोडफोड गर्नुको साथै जवान थापामाथि आक्रमण तथा कुटपिट गरेको भिडियोमा देखिएको प्रहरीले जनाएको छ ।जेनजी आन्दोलनको क्रममा जवान थापासँगै महाराजगञ्ज वृत्तमै कार्यरत असई मिलन राय र प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हवल्दार अमृत गुरुङको हत्या भएको थियो ।
प्रहरी हत्या आरोपमा पक्राउ परेका मध्ये चार जना यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । ६ जनामाथि अनुसन्धान जारी छ । अहिले थप दुई जना पक्राउ परेसँगै अब प्रहरी हिरासतमा ८ जना पुगेका छन् ।समग्रमा भने १२ जना पक्राउ परिसकेका छन् ।




