तिहार लक्षित सुरक्षा याेजनाका लागि उपत्यकामा ६ हजार प्रहरी परिचालित | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

तिहार लक्षित सुरक्षा याेजनाका लागि उपत्यकामा ६ हजार प्रहरी परिचालित

काठमाडाैं । काठमाडाैं उपत्यका प्रहरीको विशेष सुरक्षा योजनाअन्तर्गत तिहार पर्वकाे अवसरमा ६ हजार एक सय ६ जना प्रहरी परिचालन गरिएकाे छ । काठमाडाैं उपत्यका प्रहरी कार्यालका प्रमुख अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उपत्यकाकाे विशेष सुरक्षा याेजनाअन्तर्गत आपराधिक गतिबिधिबारे सूचना संकलन र जुवातास नियन्त्रणका लागि ठुलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन गरिएकाे हाे ।

तिहार पर्वका अवसरमा उपत्यकाकाे शान्ति सुरक्षा मजबुत गराउन काठमाडाैं उपत्यका प्रहरीले विशेष सुरक्षा योजना बनाइ लागु गरिएकाे उहाँकाे भनाइ छ ।

उपत्यका प्रहरी कार्यालयका अनुसार तिहारको अवसरमा हुनसक्ने आपराधिक गतिविधिलाई नियन्त्रणमा लिन व्यापक चेकजाँच तथा निगरानी अभियान सञ्चालन गरिएकाे छ। दिवा र रात्रीकालीन गस्ती परिचालनलाई बढाइएको छ भने तालीम प्राप्त कुकुर सहितको आकस्मिक चेकजाँचलाई समेत वृद्धि गरिएकाे कार्यालयले जनाएकाे छ । कार्यालयका अनुसार प्रविधिको प्रयोगमार्फत् निग्रानी बढाउँदै संवेदनशील क्षेत्रहरूमा सुरक्षा सतर्कता बढाएकाे छ ।

‘चाडपर्वको मौका छोपेर हुने चोरी, लुटपाट, झैँझगडालगायत आपराधिक गतिविधिबारे सूचना संकलनलाई प्राथमिकता दिइएको छ। यस्ता गतिविधिहरू नियन्त्रण गर्न सादा पोशाकमा समेत ठूलो संख्यामा प्रहरी खटाइनेछ।’ कार्यालयले बताएकाे छ ।

त्यस्तै, तिहारसँगै व्यापक रूपमा चल्ने जुवा र सट्टेबाजी नियन्त्रणका लागि विशेष प्रहरी टोली परिचालन गरिएकाे छ। उपत्यका प्रहरीका अनुसार सुरक्षा  व्यवस्थालाई थप प्रभावकारी बनाउन नागरिकसँगकाे सहकार्य र सहयाेगसमेत अपेक्षा गरिएकाे छ । कुनै पनि शंकास्पद गतिविधि देखेमा तत्काल नजिकको प्रहरी इकाइ वा हेल्पलाइनमा सम्पर्क गर्न कार्यालयले सर्वसाधारणसमक्ष आग्रह गरेकाे छ ।

Leave a Reply