काठमाडौं,२६ माघ । निर्माणाधिन कलंकी कोटेश्वर चक्रपथ सडकमा पैदलयात्रु असुरक्षित भएको सडक सुरक्षा अभियन्ताले बताएका छन् । चिनियाँ सरकारको सहयोगमा निर्माण भइरहेको चक्रपथको डिजाइन नै गलत भएकाले पैदलयात्रु असुरक्षित भएको उनीहरुको दाबी छ । सडकमा छुट्टै साइकल लेनको माग गर्दै अभियान चलाइरहेका इन्जिनियर भूषण तुलाधर निर्माणाधीन चक्रपथ सडकको डिजाइन त्रुटिपूर्ण भएकाले पैदलयात्रु असुरक्षित बनेको दाबी गरे ।
डिजाइनअनुसार चक्रपथ ५० किलोमिटर प्रतिघण्टा गुड्ने गरी तयार पारिएको तर पैदलयात्रुका लागि पर्याप्त जेब्रा क्रस, मिडियन र अकासे पुल नभएको उनको दाबी छ । सवारीसाधन गुडाउँदा धेरै दुर्घटनाको सम्भावना रहन्छ, उनले भने, त्यसैले सहरभित्रका सडकमा उच्च गतिका सवारीसाधन गुडाउन निषेध गर्नुपर्ने देखिन्छ ।सडक विभाग वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले यसअघि भएको चक्रपथको डिजाइनमा केही कमी कमजोरी भएको स्विकारे । आजको नागरिकमा यो खबर छापिएको छ ।




