काठमाडाैै । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने घोषणा गरेसँगै निर्वाचनमा भाग लिनको लागि नयाँ दल दर्ता गर्न चासो राख्नेहरु बढेका छन् । निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि बुझ्न आउने व्यक्तिहरु धेरै भएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो ।
यद्यपि नयाँ दल दर्ताको लागि भने तीन वटा मात्रै फाईल प्राप्त भएको उहाँले जानकारी दिनुभयो । नयाँ दल दर्ता गर्न निवेदन दिएकाहरुको कागजात बुझ्ने काम भइरहेको उहाँको भनाइ छ । उहाँले कागजपत्र बुझ्ने र नपुगेका थप कागज माग्ने प्रक्रियामा रहेको बताउनु भयो ।
उहाँले सबै प्रक्रिया पुगेपछि दल दर्ताको प्रमाणपत्र दिइने बताउनुभयो । प्रवक्ता भट्टराईकाअनुसार मौजुदा कानून अनुसार नयाँ दल दर्ताको काम सबै महिना खुला रहन्छ । तर फागुन २१ गते हुने निर्वाचनमा भाग लिनको लागि कात्तिक मसान्तसम्म नयाँ दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने उहाँले बताउनुभयो ।
निर्वाचनमा भाग लिने राजनितिक दलले मंसिर १ देखि १० गतेको बीचमा निर्वाचन प्रायोजनको लागि दल दर्ता गर्नुपर्ने आयोगले व्यवस्था गरेको छ । कात्तिक ३० गतेसम्म दल दर्ताको स्वीकृति प्राप्त गरेका नयाँ राजनितिक दलले मात्रै निर्वाचनमा भाग लिन पाउने उहाँको भनाई छ । सोहीअनुसार दल दर्ताको लागि आयोगले सार्वजानिक आह्वान समेत गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार १२२ दलहरू पहिले नै दर्ता भइसकेका छन् ।
कागजात पूरा भए दल दर्ता प्रमाणपत्र ४५ दिनभित्र प्रदान गर्नुपर्ने कानूनी व्यवस्था छ । नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय जना हस्ताक्षरकर्ता, नागरिकता प्रमाण र अरु कानूनी कागजात आवश्यक पर्ने प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । उहाँले आयागले दल दर्ता प्रक्रयालाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो । नयाँ दल दर्ताको लागी आयोगका कर्मचारीहरु क्रियाशील रहेको उहाँको भनाइ छ ।
निर्वाचनका लागि प्रशासनिक तयारीहरू युद्धस्तरमा
आयोगले निर्वाचनका लागि प्रशासनिक तयारीहरू युद्धस्तरमा अघि बढाएको छ । आन्तरिक कार्ययोजनाअनुसार आयोगका सबै शाखाहरूलाई सक्रिय बनाइएको आयोगका प्रवक्ता भट्टराईले बताउनु भयो । उहाँले निर्वाचनको लागी राजनीतिक दलहरूसँग छलफलको तयारी अगाडी बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा असोज ३० गते २९ वटा दलहरूलाई छलफलका लागि बोलाइएको छ । संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व भएका दललाई पहिलो चरणमा छलफलका लागि बोलाएको उहाँले जानकारी दिनुभयो ।
त्यसपछि अन्य राजनितिक दलहरुसँग पनि छलफल गर्दै जाने उहाँले बताउनुभयो । एकैचोटि १ सय २२ दल बोलाउन सम्भव नभएकाले क्रमशः छलफल हुने उहाँको भनाइ छ । उहाँले राजनितिक दलहरुसँगको छलफलपछि बाँकी रहेका निर्वाचन कार्यक्रमहरु तयार पारिने पनि जानकारी दिनुभयो । मनोनयन दर्ता, निर्वाचन चिन्ह प्रदान, प्रचारप्रसारको अवधि, आचारसंहिता लगायतका कार्यक्रमहरु दलहरुसंगको सहमतिका आधारमा अगाडी बढाईने उहाँले बताउनुभयो ।
निर्वाचन गराउन आयोग सधैँ तयार
प्रवक्ता भट्टराईले आयोग निर्वाचन गराउनको लागि जुनसुकै अवस्थामा पनि तयार भएर बस्ने बताउनु भयो । आयोगको स्थापना नै निर्वाचन गराउने प्रायोजनको लागि भएकोले संवैधानिक निकायले आफूलाई प्राप्त जिम्मेवारी पूरा गर्न तयार हुनुपर्ने उहाँको भनाइ छ । शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सुरक्षा निकायसंग समन्वय गर्ने, निर्वाचनको लागी सरकोवालाहरुसँग छलफल गर्ने कुरालाई आयोगले योजना योजनावद्ध रुपले अगाडी बढाउने उहाँले जानकारी दिनुभयो ।
हाल आयोगमा प्रमुख निर्वाचन आयुक्तको नियुक्ति नभएपनि सचिवालयमार्फत सबै निर्णयहरू समयमै भइरहेको समेत उहाँले बताउनुभयो । उहाँले निर्वाचनको लागि आवश्यक सुरक्षा र खर्चको व्यवस्थापन सरकारले गर्ने प्रतिवद्धता जनाएकोले निर्वाचन गर्न आयोगलाई कुनै कठिनाई नरहेको उल्लेख गर्नुभयो ।





