आदिनाथ मन्दिरमा एकमहिने मेला शुरु | ईमाउण्टेन समाचार

Our Network

फागुन २ २०८२, आइतबार

आदिनाथ मन्दिरमा एकमहिने मेला शुरु

काठमाडाैं । काठमाडौंको चोभारडाँडामा रहेको आदिनाथ मन्दिरमा एकमहिने मेला शुरू भएको छ । आदिनाथ मेला कोजाग्रत पूर्णिमाका दिनदेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिना चल्छ । मन्दिरमा राखिएको शिव र पार्वतीको संयुक्त आकार प्रतिबिम्वित मूर्ति अर्धनारेश्वर आदिनाथको पूजा आराधना गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

मेलामा सहभागी भएमा भय, रोग र विघ्नबाट मुक्त भई पारिवारिक सुख र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । आदिनाथमा हिन्दू र बौद्ध अनुयायीले साझा मन्दिरका रूपमा पुज्ने गर्दछन् । लिच्छवीकालीन राजा अंशुबर्माले स्थापना गरेको यो मन्दिर ऐतिहासिक र पुरातात्त्विक महत्वको छ ।

बौद्धमार्गीले लोकेश्वरका रुपमा पूजा गर्ने मन्दिरमा लामो आयु प्राप्त हुने, अकालमा मृत्यु नहुने, धनसम्पत्ति प्राप्त हुने विश्वास छ । हिन्दू धर्मावलम्बीले शिवशक्तिका रूपमा तथा बौद्ध धर्मावलम्बीले आनन्दादी लोकेश्वरका रूपमा आदिनाथलाई पूजा गर्ने गर्दछन्।

काठमाडौंबाट करिब नौ किलोमिटर दक्षिणमा रहेको यो मन्दिर नजिकै चोभारडाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ । मन्दिरबाट नजिकै रहेको मञ्जुश्री पार्क, जलविनायक मन्दिर, टौदह पनि धार्मिक महत्वका स्थल हुन् ।

Leave a Reply