८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल,शैक्षिक गुणस्तरमाथि प्रश्न | ईमाउण्टेन समाचार

Our Network

माघ १९ २०८२, सोमबार

८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल,शैक्षिक गुणस्तरमाथि प्रश्न

काठमाडौ ।
एमबीबीएस र बीडीएस सकाएर चिकित्सक बन्ने तयारी गरेका सयौँ विद्यार्थी पहिलो खुड्किलोमै फेल भएका छन् ।नेपाल मेडिकल काउन्सिल एनएमसीले हालै प्रकाशित गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले देशको चिकित्सा शिक्षाको स्तरबारे गम्भीर शंका उब्जाएको हो ।विशेषगरी डेन्टल बीडीएस तर्फको नतिजा पूर्णरूपमै निरासाजन आएकोछ ।यस्तो परिणामले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ ।

नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा ६१ प्रतिशत फेल भएका छन् ।काउन्सिलले गत बुधबार र बिहीबार चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन गरेको थियो । यसपटकको लाइसेन्स परीक्षाको नतिजा भने निरासाजनक देखिएको छ ।जसमा एमबीबीएस र बीडीएसमा गरी १ हजार ७७ जना परीक्षा दिएका मध्ये ६५६ जना फेल नै भए । एमबीबीएसमा भने ४२ प्रतिशत र बीडीएसमा १८ प्रतिशत मात्रै पास भएका छन् ।काउन्सिलका अनुसार एमबीबीएस र बीडीएसमा गरी ३९।०९ प्रतिशत मात्रै पास भएका छन् ।

काउन्सिलका रजिष्ट्रार डा. सतीशकुमार देवका अनुसार परीक्षाका लागि १ हजार १०३ जनाले फारम भरेकामा २६ जना अनुपस्थित थिए ।एमबीबीएसतर्फ ९१५ जनाले फारम भरे पनि २१ जना अनुपस्थित थिए । ८९४ जनाले परीक्षा दिएकोमा ३८६ जना मात्रै पास भए । यस्तै बीडीएसतर्फ १८८ जनाले फारम भरेका थिए । तर ५ जना अनुपस्थित रहे । १८३ सहभागीमध्ये ८१ प्रतिशत फेल भए ।यसबीच चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएसमा भर्ना सिट संख्या बढाउने निर्णय गरेको बेला यस्तो कमजोर नतिजा सार्वजनिक भएको हो ।चिकित्सा शिक्षा आयोगले ३० साउनमा २१औं बैठकले एमबीबीएसमा १,३५९ सिट थपेर २,६३५ पुर्‍याएको छ ।

बीडीएसको सिट ६२५ बनाइएको छ । सिट बढाउँदा गुणस्तर खस्किन्छ भन्ने सरोकारवालाहरूको चेतावनीलाई झनै पुष्टि गरेको छ ।एनएमसीका रजिष्ट्रार डा। सतीशकुमार देवका अनुसार यसपटक अनुत्तीर्ण हुनेहरूमा अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या धेरै छ ।तर, ठूलो संख्यामा विद्यार्थी असफल हुनुले शैक्षिक संस्थाको अध्यापन पद्धति, पाठ्यक्रम र विद्यार्थीको तयारी नै कमजोर भएको कटु सत्य उजागर गरेको छ । विज्ञका अनुसार सिट संख्या बढाएर मात्रै डाक्टर उत्पादन गर्ने नीति घातक बन्न सक्छ ।
अब सरकार र नियामक निकायले चिकित्सा शिक्षाको सम्पूर्ण ढाँचा पुनरावलोकन गर्ने, कमजोर शैक्षिक संस्थामाथि कडाइ गर्ने र विद्यार्थीलाई लाइसेन्स परीक्षामा सक्षम हुने स्तरको बनाउने कदम तत्काल चाल्नुपर्ने विज्ञको सुझाव छ ।

Leave a Reply